Skip to main content
मार्गदर्शन

NHS सर्भिकल् स्क्रिनिङ प्रोग्राम् - HPV सेल्फ-टेस्टिंग (आफैँ-परीक्षण गर्ने) (Nepali)

प्रकाशित 24 अगष्ट 2026

Applies to England

HPV सेल्फ-टेस्टिंग बारे

NHS ले केही महिला र पाठेघरको मुख भएका मानिसहरूलाई ह्युम्यान प्यापिलोमाभाइरस (HPV पनि भनिन्छ) भनिने भाइरसको वैकल्पिक परीक्षणको रूपमा HPV सेल्फ-टेस्टिंगको अवसर प्रदान गर्छ।

HPV एक सामान्य भाइरस हो र सामान्यतया हानिरहित हुन्छ, तर केही उच्च-जोखिमयुक्त प्रकारहरूले तपाईंमा पाठेघरको मुखको क्यान्सर (सर्भिकल् क्यान्सर) निम्त्याउने सम्भावना बढाउन सक्छन्। तपाईंले एकान्त ठाँउमा आफैँ HPV सेल्फ-टेस्ट (आफैँ परीक्षण) गर्न सक्नुहुन्छ।

तपाईंलाई किन आमन्त्रित गरिएको छ

तपाईंलाई पहिले स्मियर टेस्ट भनेर चिनिने पाठेघरको मुखको स्क्रिनिङ (सर्भिकल् स्क्रिनिङ) को लागि आमन्त्रित गरिएको थियो, तर तपाईं उपस्थित हुनुभएन। HPV सेल्फ-टेस्टिंगले तपाईंलाई भाग लिनका लागि अर्को विकल्प दिन्छ।

तपाईंले परीक्षणः

  • आफ्नो घरमा वा एकान्त ठाँउमा गर्न सक्नुहुन्छ
  • आफूलाई उपयुक्त हुने समयमा गर्न सक्नुहुन्छ
  • अपोइन्टमेन्ट बिना नै गर्न सक्नुहुन्छ।

किटमा दिइएका निर्देशनहरूले तपाईंलाई परीक्षण कसरी गर्ने भनेर बताउनेछन्। यदि तपाईंलाई कुनै थप मद्दत चाहिन्छ भने - उदाहरणका लागि, यदि तपाईंसँग शारीरिक वा सिकाइ अशक्तता (डिस्एबिलिटि) छ भने - त्यसको लागि सहायता उपलब्ध छ। तपाईंलाई पठाइएका सेल्फ-टेस्ट निमन्त्रणामा तपाईंले सम्पर्क विवरणहरू पाउनुहुनेछ।

पाठेघरको मुखको स्क्रिनिङ र HPV सेल्फ-टेस्टिंग बीच के भिन्नता छ?

पाठेघरको मुखको क्यान्सरबाट आफूलाई बचाउने सबैभन्दा उत्तम तरिका पाठेघरको मुखको स्क्रिनिङ गर्नु हो।

पाठेघरको मुखको क्यान्सर रोक्नको लागि नियमित रूपमा पाठेघरको मुखको स्क्रिनिङमा उपस्थित हुनु जत्तिकै प्रभावकारी HPV सेल्फ-टेस्टिंग गर्दा हुन्छ भन्ने प्रमाण अझै पनि हामीसँग छैन। तर यदि तपाईंले स्क्रिनिङ गर्नुभएको छैन भने, सेल्फ-टेस्टिंग अर्को उत्तम विकल्प हो।

पाठेघरको मुखको स्क्रिनिङ

  • यो तपाईंको GP सर्जरी वा यौन स्वास्थ्य क्लिनिक (सेक्स्युअल् हेल्थ क्लिनिक) मा गरिन्छ।
  • नर्स वा डाक्टरले तपाईंको पाठेघरको मुखबाट सानो नमूना लिन्छन्।
  • उच्च-जोखिमयुक्त (हाइ-रिक्स्) HPV को लागि उक्त नमूना जाँच गरिन्छ।
  • यदि उच्च-जोखिमयुक्त HPV फेला पर्यो भने, नमूनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउन सक्ने कोषिका (cell) परिवर्तनहरूको लागि जाँच गरिन्छ।
  • यी परिवर्तनहरूको उपचार गर्न सकिन्छ।

HPV सेल्फ-टेस्टिंग

  • तपाईंले घरमा वा एकान्त ठाउँमा आफ्नो नमूना आफैँ लिनुहुन्छ।
  • यस परीक्षणको लागि तपाईंले स्वाब (यो अलिकति कटन बड् जस्तै हुन्छ) लाई आफ्नो योनि भित्र केही सेन्टिमिटर प्रवेश गराएर नमूना सङ्कलन गर्नु पर्छ। किटमा पूर्ण निर्देशनहरू हुन्छन्।
  • त्यसपछि तपाईंले नमूनालाई हुलाकमार्फत NHS मा फिर्ता पठाउनुहुन्छ, जहाँ उच्च-जोखिमयुक्त HPV को लागि यसलाई जाँच गरिन्छ।
  • यदि उच्च-जोखिमयुक्त HPV फेला पर्यो भने, तपाईंलाई आफ्नो GP सर्जरी वा यौन स्वास्थ्य क्लिनिकमा पाठेघरको मुखको स्क्रिनिङ अपोइन्टमेन्ट बुक गर्नु भनिनेछ।
  • नर्स वा डाक्टरले तपाईंको पाठेघरको मुखबाट सानो नमूना लिनेछन्, जसलाई पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउन सक्ने कोषिका परिवर्तनहरूको लागि परीक्षण गर्न सकिन्छ।
  • यी परिवर्तनहरूको उपचार गर्न सकिन्छ।

पाठेघरको मुख र योनिको स्थिति देखाउने डायग्राम

सेल्फ-टेस्टिंग किट् कसरी प्राप्त गर्ने

NHS ले तपाईंलाई HPV सेल्फ-टेस्टिंगमा भाग लिन आमन्त्रित गर्नेछ। तपाईंलाई निमन्त्रणा NHS एप, टेक्स्ट म्यासेज (SMS), इमेल वा पत्र मार्फत पठाइन सक्छ।

तपाईंले आफ्नो निमन्त्रणा प्राप्त गर्नु भएपछि, NHS एपमा वा आफ्नो NHS अनलाइन खाता मार्फत आफ्नो नि:शुल्क किट् अर्डर गर्न त्यहाँ दिइएका निर्देशनहरू पालना गर्नुहोस्। यदि तपाईंसँग खाता छैन भने, तपाईंले खोल्न सक्नुहुन्छ। तपाईंको यस निमन्त्रणामा किट् अर्डर गर्ने अन्य तरिकाहरू बारे जानकारी पनि समावेश हुन्छ।

आफ्नो नतिजा कसरी प्राप्त गर्ने

आफ्नो नमूना लिएपछि, उपलब्ध गराइएका खाममा हालेर तुरुन्तै हुलाकमार्फत फिर्ता गर्नुहोस्। हुलाक दस्तुर निःशुल्क हुन्छ।

तपाईंले आफ्नो नतिजा 14 दिन भित्र प्राप्त# गर्नुपर्नेछ र तपाईंले ती NHS एप वा पत्र मार्फत प्राप्त गर्नुहुनेछ।

नतिजाले तपाईंलाई के भन्नेछ

HPV नेगेटिभ

तपाईंको परीक्षणले उच्च-जोखिमयुक्त HPV फेला पारेन। यदि तपाईं अझै पनि योग्य हुनुहुन्छ भने, तपाईंलाई 5 वर्षमा फेरि पाठेघरको मुखको स्क्रिनिङको लागि आमन्त्रित गरिनेछ। 

भविष्यमा तपाईंलाई अझै पनि HPV लाग्न सक्छ, त्यसैले पाठेघरको मुखको क्यान्सरका लक्षणहरू जान्न महत्त्वपूर्ण छ। NHS वेबसाइटमा तिनीहरुको व्याख्या गरिएका छन्: nhs.uk/conditions/cervical-cancer/symptoms/

HPV पोजिटिभ

तपाईंको परीक्षणले उच्च-जोखिमयुक्त HPV फेला पार्यो। यसको मतलब तपाईंमा पाठेघरको क्यान्सर छ भनेको होइन। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउन सक्ने कोषिका परीवर्तनहरु परीक्षण गर्नको लागि नमूना लिन तपाईंलाई आफ्नो GP सर्जरी वा यौन स्वास्थ्य क्लिनिकमा पाठेघरको मुखको स्क्रिनिङ अपोइन्टमेन्ट बुक गर्नु भनिनेछ।

HPV बारेमा थप जानकारी nhs.uk/conditions/human-papilloma-virus-hpv/ मा प्राप्त गर्नुहोस्

HPV नतिजा स्पष्ट छैन

यदि हामीले तपाईंको HPV सेल्फ-टेस्टबाट स्पष्ट नतिजा प्राप्त गर्न सकेनौं भने, तपाईंलाई फेरि यो गर्नु भनिन सक्छ। यस बारे कुनै चिन्ता लिन आवास्यक छैन र यसो हुनुको अर्थ तपाईंमा क्यान्सर छ भन्ने होइन।

यदि तपाईं HPV सेल्फ-टेस्ट गर्न चाहनुहुन्न भने के गर्ने

तपाईं अझै पनि जुनसुकै बेला पाठेघरको मुखको स्क्रिनिङ अपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ - यदि तपाईंलाई महिनौं वा वर्षौं अघि पाठेघरको मुखको स्क्रिनिङको लागि आमन्त्रित गरिएको थियो भने पनि।

यदि तपाईंको नियमित पाठेघरको मुखको स्क्रिनिङ तपाईंको 60 औं जन्मदिनमा वा पछि हुने छ र तपाईं त्यसमा उपस्थित हुनुभएन भने, तपाईंले अब उप्रान्त नियमित निमन्त्रणाहरू प्राप्त गर्नुहुने छैन भन्ने पुष्टिकरण (कन्फरमेसन्) प्राप्त गर्नुहुनेछ। HPV सेल्फ-टेस्टिंग किट् अनुरोध गर्नु भनेर तपाईंले निमन्त्रणा प्राप्त गर्न सक्नेछ।

थप जानकारीको लागि nhs.uk/cervicalscreening/ मा जानुहोस्

यदि तपाईंले HPV खोप लगाउनुभएको छ भने

यो खोपले सबै प्रकारका HPV विरुद्ध सुरक्षा दिदैन। तपाईंले HPV खोप लगाइसक्नु भएको छ भने पनि, तपाईं अझै पनि पाठेघरको मुखको स्क्रिनिङ अपोइन्टमेन्टहरुमा जानुपर्छ वा, निमन्त्रणा गरिएमा HPV सेल्फ-टेस्ट गर्नुपर्छ। 

यदि तपाईं 25 वर्ष मुनिको हुनुहुन्छ र 12 वा 13 वर्षको उमेरमा HPV खोप लगाउन छुटाउनुभएको छ भने, खोप लगाउनको लागि आफ्नो GP सर्जरीलाई सम्पर्क गर्नुहोस्। 

हामी तपाईंको जानकारी कसरी प्रयोग गर्छौं

हामी तपाईंलाई सही समयमा स्क्रिनिङको लागि आमन्त्रित गर्न र स्क्रिनिङ कार्यक्रममा सुधार ल्याउन तपाईंको NHS रेकर्ड प्रयोग गर्छौं।

हामीले कसरी तपाईंको जानकारी प्रयोग गर्छौं र संरक्षण गर्छौं भन्ने बारे थप जानकारी पेसेन्ट् कन्फिडेन्टसियलिटि इन् NHS स्क्रिनिङ मा पढ्नुहोस्।

अप्टिंग आउट अफ् NHS स्क्रिनिङ प्रोग्राम्स् बारे थप जानकारी पढ्नुहोस्।

वैकल्पिक संस्करणहरू

यो जानकारी अन्य भाषाहरू र सजिलै-पढ्न सकिने ढाँचा (इजी-रिड् फर्म्याट्) मा उपलब्ध छः

कृपया हामीलाई कल वा इमेल गर्दा आफ्नो रेफरेन्स (सन्दर्भ) नम्बर दिनुहोस्। यो तपाईंले आफ्नो निमन्त्रणामा पाउन सक्नुहुन्छ।