परिचय र सारांशको एनिमेशन (Nepali)
अद्यावधिक गरियो 3 जुन 2026
Applies to England
यो छोटो एनिमेशनमा गर्भावस्थाको बेला र बच्चा जन्मेपछि गरिने स्क्रिनिङ परीक्षणहरूबारे देखाइएको छ।
यो एनिमेशन सबटाइटलका साथै ब्रिटिश साङ्केतिक भाषामा पनि उपलब्ध छ। सबटाइटलयुक्त संस्करणहरूमा अंग्रेजी लगायत अरबी, बङ्गाली, चिनियाँ, फ्रेन्च, लाट्भियाली, लिथुआनियाली, पोलिस, पोर्चुगिज, पञ्जाबी, रोमानियाली, सोमाली र उर्दू भाषामा अनुवादहरू समावेश छन्।
स्क्रिनिङ परीक्षणहरू
स्क्रिनिङ परीक्षणहरू भनेको स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने उच्च सम्भावना रहेको व्यक्तिहरू पत्ता लगाउन गरिन्छ। यसो गर्दा, उनीहरूले चाँडै र सम्भावित रूपमा प्रभावकारी उपचार गराउन वा आफ्नै स्वास्थ्यबारे जानकारीमूलक निर्णय लिन सक्छन्। स्क्रिनिङ भनेको मानिसहरूलाई कुनै चालनी मार्फत छानेर निकाल्ने प्रक्रिया जस्तो सम्झँदा पनि बुझ्न सजिलो हुन सक्छ। धेरैजसो मानिसहरू सोझै पार हुन्छन्, तर कतिजना थोरै मानिसहरू भने चालनीमा अड्किन्छन्। चालनीमा अड्किने मानिसहरू भनेको उनीहरूलाई जुन स्वास्थ्य समस्याको लागि स्क्रिनिङ गरेको हो त्यो स्वास्थ्य समस्या हुने उच्च सम्भावना भएको मानिन्छ।
स्क्रिनिङ परीक्षणहरू पूर्णतया सटीक हुँदैनन्। निष्कर्षमा कुनै मानिसहरूलाई उनी वा उनीहरूको बच्चामा स्वास्थ्य समस्या हुने उच्च सम्भावना छ भनेर भनिन्छ, तर वास्तविक रूपमा त्यस्तो समस्या हुँदैन (फल्स पोजेटिभ)। त्यस्तै, निष्कर्षमा कुनै मानिसहरूलाई उनी वा उनीहरूको बच्चामा स्वास्थ्य समस्या हुने कम सम्भावना छ भनेर भनिन्छ, तर वास्तविक रूपमा उनीहरूमा त्यो समस्या हुन्छ (फल्स नेगेटिभ)।
पार्टनरहरूलाई स्क्रिनिङ र जानकारीमूलक सत्रहरूमा सहभागी हुन स्वागत गरिन्छ।
स्क्रिनिङ परीक्षण र नैदानिक परीक्षणमा फरक
स्क्रिनिङ परीक्षणद्वारा तपाईं वा तपाईंको बच्चामा कुनै स्वास्थ्य समस्या हुने उच्च वा कम सम्भावना छ वा छैन भन्ने पत्ता लाग्न सक्छ। तर यसले सामान्यतया निश्चित बताउन सक्दैन, त्यसैले स्वास्थ्य समस्या हुने उच्च सम्भावना देखिएका मानिसहरूलाई प्रायः अर्को कुनै परीक्षणको अवसर दिइन्छ। यसलाई नैदानिक परीक्षण भनिन्छ र यसले स्पष्ट रूपमा ‘छ’ वा ‘छैन’ भन्ने जवाफ दिन्छ।
गर्भावस्थामा र बच्चाको जन्मपछि गरिने स्क्रिनिङ परीक्षणहरू
तपाईं वा तपाईंको बच्चामा कुनै स्वास्थ्य समस्या हुनसक्छ वा हुँदैन भनेर जान्नको लागि गर्भावस्थामा स्क्रिनिङ परीक्षणहरू गरिन्छ। उक्त परीक्षणहरू – अल्ट्रासाउन्ड स्क्यान, रगत परीक्षण र प्रश्नावली – ले तपाईंलाई गर्भावस्थामा वा बच्चा जन्मेपछि हेरचाह वा उपचारको बारेमा निर्णय लिन मद्दत गर्न सक्छन्।
तपाईंको बच्चा जन्मिएको लगत्तै नवजात शिशु स्क्रिनिङ परीक्षण गर्न लगाइन्छ। आवश्यक परेको खण्डमा तपाईंको बच्चालाई सकेसम्म चाँडो उपयुक्त उपचार दिन सकियोस् भनेर हामी यी परीक्षणहरू गर्न लगाउँछौं।
केही व्यवहारिक कुराहरू
यदि तपाईं, तपाईंको बच्चाको बाबु, वा परिवारका अन्य कुनै सदस्यलाई पहिले नै कुनै स्वास्थ्य समस्या छ भने, कृपया तपाईंको मिडवाइफलाई बताउनुहोस्। यदि तपाईं कुनै स्क्रिनिङ परीक्षणको परिणामको प्रतीक्षा गर्दा गर्दै घर सर्नुहुन्छ भने, कृपया आफ्नो मिडवाइफ वा स्वास्थ्य भ्रमणकर्तालाई आफ्नो नयाँ ठेगाना बताउनुहोस्।
स्क्रिनिङ तपाईंको विकल्प हो
प्रत्येक परीक्षण गर्ने वा नगर्ने व्यक्तिगत विकल्प हो र यो निर्णय केवल तपाईंले मात्र लिन सक्नुहुन्छ। तपाईंलाई प्रस्ताव गरिएका परीक्षणहरूको बारेमा स्वास्थ्य पेशेवरसँग छलफल गर्न सक्नुहुन्छ र आफ्नो स्थिति अनुसार यो तपाईंका लागि उपयुक्त हुन्छ वा हुँदैन भन्ने निर्णय लिन सक्नुहुन्छ। तपाईंले कुनै पनि बेला आफ्नो विचार बदल्न सक्नुहुन्छ।
यहाँ बताइएका केही स्क्रिनिङ परीक्षणहरू, जस्तै सङ्क्रमणजन्य रोगका लागि रगत परीक्षण, यदि मधुमेह छ भने आँखाको जाँच, र नवजात शिशुको जाँचहरू, राष्ट्रिय स्वास्थ्य सेवाद्वारा सिफारिस गरिएका परीक्षणहरू हुन्। परीक्षणहरूको परिणामले तपाईं वा तपाईंको बच्चालाई कुनै गम्भीर समस्याहरूको लागि तत्काल उपचार पाउनमा मद्दत गर्न सक्छ भनेर यसो गरिएको हो।
गर्भावस्थामा सिकल सेल रोग र थ्यालेसेमिया, डाउन सिन्ड्रोम, एडवर्ड्स सिन्ड्रोम, पाटाउ सिन्ड्रोम र 20 हप्ताको स्क्यानका लागि गरिने स्क्रिनिङ परीक्षणहरू गराएपछि अत्यन्तै व्यक्तिगत निर्णयहरू लिनुपर्ने हुन सक्छ। यसमा निम्न कुराहरू पर्न सक्छ:
- गर्भपतनको सम्भावना रहने नैदानिक परीक्षण गर्ने वा नगर्ने भन्ने निर्णय
- गर्भधारण जारी राख्ने वा अन्त्य गर्ने भन्ने निर्णय
उक्त स्क्रिनिङ परीक्षणहरू गर्ने वा नगर्ने भनेर राम्ररी विचार गर्नु महत्वपूर्ण छ। तपाईंका निर्णयको पालन गरिनेछ साथै स्वास्थ्य पेशेवरहरूले तपाईंलाई सहयोग गर्नेछन्। यदि आफ्नो निर्णयको पालन गरिएको छैन भन्ने तपाईंलाई लागेमा, तपाईंले भन्नु पर्छ।
थप सहयोग
यस जानकारीमा समावेश कुनै पनि स्वास्थ्य अवस्थाबारे सहयोग प्रदान गर्न सक्ने संस्थाहरूको विवरणका लागि NHS.UK मा हेर्नुहोस्।
स्क्रिनिङ र राष्ट्रिय स्वास्थ्य सेवा
राष्ट्रिय स्वास्थ्य सेवाले कुन कुन स्क्रिनिङ परीक्षणहरू गर्न लगाउने भन्ने निर्णय ठोस प्रमाणको आधारमा गर्दछ। यसमा संयुक्त अधिराज्य राष्ट्रिय स्क्रिनिङ समिति (UK NSC) नामक विशेषज्ञ समूहले राष्ट्रिय स्वास्थ्य सेवालाई सल्लाह दिन्छ। राष्ट्रिय स्वास्थ्य सेवाद्वारा गरिने सबै स्क्रिनिङ परीक्षणहरू निःशुल्क हुन्छन्। केही निजी कम्पनीहरूमा पनि पैसा तिरेर स्क्रिनिङ परीक्षणहरू गर्न सकिन्छ। राष्ट्रिय स्वास्थ्य सेवा ले निजी स्क्रिनिङको गुणस्तरको ग्यारेन्टी गर्न सक्दैन। निजी स्क्रिनिङको बारेमा थप सल्लाह लिनुहोस्।
गोपनीयता
राष्ट्रिय स्वास्थ्य सेवा स्क्रिनिङ कार्यक्रमहरूले तपाईंको राष्ट्रिय स्वास्थ्य सेवा रेकर्डबाट व्यक्तिगत जानकारी प्रयोग गरेर तपाईंलाई उपयुक्त समयमा स्क्रिनिङका लागि बोलाउँछन्। राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्डले तपाईंको जानकारी उच्च गुणस्तरीय हेरचाह प्रदान गर्न र स्क्रिनिङ कार्यक्रमहरूलाई सुधार्न पनि प्रयोग गर्छ। तपाईंको जानकारीको कसरी प्रयोग र सुरक्षित गरिन्छ, र तपाईंका विकल्पहरू के छन् भनेर थप जान्नुहोस्।
स्क्रिनिङ सेवा प्रदायक र राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्डले तपाईं वा तपाईंको बच्चालाई स्क्रिनिङका लागि बोलाउन तपाईंको स्वास्थ्य अभिलेखबाट व्यक्तिगत जानकारीको प्रयोग गर्छन्।
राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्डले स्क्रिनिङ सेवाहरू सुरक्षित, प्रभावकारी बनाउन र तोकिएका उच्च गुणस्तरीय मापदण्डहरू कायम राख्न तपाईंको जानकारीको प्रयोग गर्छ। सम्भव भएसम्म, हामी जानकारीलाई पहिचान रहित रूपमा प्रयोग गर्छौं। हामी तपाईं वा तपाईंको बच्चाको पहिचान गर्न सकिने जानकारी कहिल्यै पनि प्रकाशित गर्दैनौं।
तपाईंको व्यक्तिगत सूचना प्रशोधन संयुक्त अधिराज्य सामान्य सूचना संरक्षण विनियम (UK GDPR) अनुसार गरिन्छ। डेटा संरक्षण कानुनअनुसार तपाईंको डेटा कसरी प्रयोग गरिन्छ भन्ने बारे अधिकारहरू छन् (हेर्नुहोस् खण्ड ‘स्क्रिनिङ कार्यक्रमहरू र तपाईंका अधिकारहरू’)।
राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्ड र स्क्रिनिङ सेवा प्रदायकहरू डेटा नियन्त्रक हुन्, जो स्क्रिनिङ सेवाहरू प्रदान गर्ने उद्देश्यका लागि व्यक्तिगत डेटा प्रशोधन गर्न जिम्मेवार हुन्छन्। सुरक्षा र गुणस्तरीय सुनिश्चितता कायम गर्ने उद्देश्यका लागि राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्ड डेटा नियन्त्रक हो।
यदि स्क्रिनिङ वा प्रसव पूर्वको निदान (PND) परीक्षणहरूबाट तपाईंको बच्चामा केही स्वास्थ्य समस्या छ भन्ने संकेत देखिएमा, हामी उक्त जानकारी सुरक्षित नेशनल कन्जेनेटल एनोमली एण्ड रेयर डिजिज रजिष्ट्रेशन सर्भिस (NCARDRS) मा पठाउनेछौं।
यो दुर्लभ अवस्था लिएर जन्मिने बच्चाहरूको सुरक्षित राष्ट्रिय दर्ता हो। स्क्रिनिङमा सुधार ल्याउन र उक्त अवस्थाको रोकथाम वा उपचार गर्न यसले हामीलाई सहायता गर्छ।
राष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्डले तपाईं वा तपाईंको बच्चाको व्यक्तिगत जानकारी राष्ट्रिय रोग दर्ता मा साझा गर्न सक्छ। यो जानकारीले हामीलाई स्क्रिनिङ कार्यक्रमहरू कतिको प्रभावकारी छन् भनेर धेरै जान्न सहायता गर्छ।
यदि तपाईं आफ्नो बच्चाको विवरण दर्तामा नथपियोस् भनेर बाहिरिन चाहनुहुन्छ भने, कृपया यसबारे आफ्नो स्वास्थ्य पेशेवरसँग कुरा गर्नुहोस् र सही निर्णय लिनुहोस्।
हामी तपाईं वा तपाईंको बच्चाको व्यक्तिगत जानकारी स्क्रिनिङमा सुधार गर्न चाहनेराष्ट्रिय स्वास्थ्य सेवा इङ्गल्याण्ड बाहिरका अनुसन्धानकर्तासँग पनि साझा गर्न सक्छौं। तर यो कठोर अनुमोदन र सुरक्षा उपायहरू सहित मात्र हुनेछ।
आफ्नो विवरण अनुसन्धान तथा योजना निर्माणमा प्रयोग गर्नबाट रोक्न तपाईंले बाहिरिन सक्नुहुन्छ र तपाईंको डेटा समावेश गरिँदैन। कृपया यसबारे आफ्नो स्वास्थ्य पेशेवरसँग कुरा गर्नुहोस् र सही निर्णय लिनुहोस्।