HPV सेल्फ-टेस्टिंग किट्स (आफै-परीक्षण गर्ने उपकरणको सेट): कसरी प्रयोग गर्ने (Copan) (Nepali)
प्रकाशित 24 अगष्ट 2026
Applies to England
तपाईंले HPV सेल्फ-टेस्टिंग किट् अनुरोध गर्नुभएकोमा धन्यवाद।
यो HPV सेल्फ-टेस्टिंग किट् तपाईंको प्रयोगको लागि मात्र हो र यसलाई अरू कसैसँग सेयर गर्नु हुँदैन वा कसैलाई पनि प्रयोग गर्न दिनु हुँदैन।
कृपया आफ्नो किट् सँग समावेश गरिएका निर्देशनहरू पालना गर्नुहोस्।
यदि तपाईंलाई थप सहायता चाहिन्छ भने (उदाहरणका लागि, शारीरिक वा सिकाइ अशक्तताको कारणले), 0300 303 2724 मा सम्पर्क गर्नुहोस्।
तपाईंको आफ्नो महिनावारीको समयमा, गर्भवती भएको बेला, वा गर्भावस्था वा स्त्री रोग सम्बन्धि (gynaecological) शल्यक्रिया गरिएको तीन महिना भित्र नमुना सङ्कलन नगर्नुहोस्।
यदि तपाईंले गएको ३ दिनमा, vaginal ovules (योनीमा राख्ने औषधी), योनिमा राख्ने contraceptives (गर्भनिरोधक), योनिको क्रिम, यौनांग सफा गर्ने औषधि, लुब्रिकेन्ट वा कन्डम प्रयोग गर्नुभएको छ भने सेल्फ-टेस्ट गरि आफ्नो नमुना सङ्कलन नगर्नुहोस्।
यदि तपाईं पाठेघरको मुखको क्यान्सरको बारेमा चिन्तित हुनुहुन्छ, वा नयाँ वा असामान्य लाग्ने कुनै पनि लक्षणहरू तपाईंमा देखिएको छ भने आफ्नो नमूना सङ्कलन नगर्नुहोस् र सकेसम्म चाँडो आफ्नो GP लाई सम्पर्क गर्नुहोस्। लक्षणहरू निम्न लगायत हुन्छन्ः
-
यौनसम्पर्कको समयमा वा पछि, महिनावारीको बिचमा, वा रजोनिवृत्ति (menopause) पछि रक्तस्राव हुने
-
यौन सम्पर्कको समयमा दुखाइ हुने
-
योनिबाट सामान्य भन्दा भारी र असामान्य गन्ध भएको स्राव (discharge) हुने
यी लक्षणहरूको अनुसन्धान नभएसम्म तपाईंले सेल्फ-टेस्ट प्रयोग नगर्नुहोस्।
तपाईंले आफ्नो सेल्फ-टेस्ट लिइसकेपछि 24 घण्टा भित्र नै तपाईंलाई प्रदान गरिएको फिर्ता गर्ने खाम (return envelope) प्रयोग गरि पठाउनुहोस्।
यदि तपाईंले आफ्नो नतिजा 14 दिन भित्र प्राप्त गर्नुभएको छैन भने, तपाईं सेल्फ-टेस्टको बारेमा प्रश्नहरू सोध्न चाहनुहुन्छ भने, वा तपाईंको किटमा क्षति भएको छ भने, 0300 303 2724 मा सम्पर्क गर्नुहोस्।
NHS सर्भिकल् स्क्रिनिङ प्रोग्राम (पाठेघरको मुखको स्क्रिनिङ कार्यक्रम)
यो किटमा निम्न समावेश छन्
महत्त्वपूर्ण
HPV परीक्षण निर्माण गर्ने कम्पनीको अभिप्रेरित प्रयोग (“अफ-लेबल”) भन्दा फरक उद्देश्यको लागि यो किट प्रयोग गरिँदैछ। यसको अर्थ HPV परीक्षण असुरक्षित वा अविश्वसनीय हुन्छ भन्ने होइन, तर यसलाई मूल रूपमा तोकिएको भन्दा फरक तरिकाले प्रयोग गरिँदैछ। यस अवस्थामा, स्वाबलाई क्लिनिकमा नभई घरमा प्रयोग गर्नको लागि मानिसहरूलाई पठाइँदैछ र प्रयोगशालाले आफै-सङ्कलन गरिएका नमूनाहरूको लागि उपयुक्त प्रक्रिया प्रयोग गर्छ।
तपाईंले सुरु गर्नु अघि
-
चित्रमा देखाए अनुसार किटमा सबै वस्तुहरू छन् कि छैनन् जाँच गर्नुहोस्। यदि केहि हराइरहेको छ वा बिग्रिएको छ भने, किट् प्रयोग नगर्नुहोस्। 0300 303 2724 हेल्पलाइनमा सम्पर्क गर्नुहोस्।
-
कृपया सेल्फ-टेस्ट गर्नु अघि र गरि सकेपछि साबुनपानीले आफ्नो हात धुनुहोस्।
-
निर्देशनहरू पढिसकेपछि, तपाईंलाई सेल्फ-टेस्ट पूरा गर्न केही मिनेट मात्र लाग्नेछ।
1. हात धुनुहोस्
- कृपया सेल्फ-टेस्ट गर्नु अघि र गरि सकेपछि साबुनपानीले आफ्नो हात धुनुहोस्।
2. बिर्को खोल्नुहोस्
-
एउटा हातले ट्यूब समात्नुहोस् र अर्को हात बिर्को खोल्न प्रयोग गर्नुहोस् र बिर्कोलाई ट्यूबबाट निकाल्नुहोस्।
-
ट्यूब सुरक्षितसाँथ राख्नुहोस्। यो तपाईंलाई पछि आवश्यकता पर्नेछ।
3. स्वाब समात्ने
-
स्वाबलाई यसको रातो रेखामा समात्नुहोस्, जसले गर्दा तपाईंले स्वाबलाई धेरै भित्र प्रवेश गराउनु हुन्न भन्ने कुरा सुनिश्चित गर्नेछ।
-
सेल्फ-टेस्ट लिनु अघि स्वाबले केहि कुरा पनि नछुएको सुनिश्चित गर्नुहोस्।
-
तपाईंले स्वाबमा रहेको रातो रेखा छुँदा यसलाई महसुस गर्न सक्नुहुनेछ।
4. सजिलो हुने अवस्थामा रहनुहोस्
-
सजिलो हुने अवस्थामा रहनुहोस्, उदाहरणको लागि, ट्याम्पन् लगाउँदाखेरि जस्तो।
-
तपाईं बसेर, उभिएर वा सुतेर सेल्फ-टेस्ट किट् प्रयोग गर्न सक्नुहुन्छ।
5. भित्र प्रवेश गराउन तयार हुनुहोस्
-
आफ्नो खुट्टाहरु फट्याएर, योनि बाहिरको छालालाई बिस्तारै बाहिर फिजाउनुहोस्।
-
आफ्नो योनिको तल्लो भागतिर टुप्पो ताक्नुहोस् र बिस्तारै स्वाबको टुप्पोलाई योनिभित्र 5 cm सम्म प्रवेश गराउनुहोस् (लगभग 2 इन्च, वा तपाईंको चोर औंलाको दुइवटा घर्काको लम्बाइ)।
-
यो रातो रेखाभन्दा तल हुन्छ।
6. स्वाबलाई भित्र प्रवेश गराउनुहोस्
-
यदि स्वाब सजिलैसँग भित्र गएन भने, यसलाई भित्र प्रवेश गराउदा बिस्तारै घुमाउनुहोस्। रातो रेखामा रहेका तपाईंको औंलाहरूले तपाईंलाई धेरै भित्र प्रवेश गराउनबाट रोक्नेछ।
-
स्वाबको टुप्पोले तपाईंको पाठेघरको मुखलाई छुनु पर्दैन।
-
यो गर्दा असहज नहुनु पर्छ तर यदि भयो भने, क्रमश नगर्नुहोस्। 0300 303 2724 हेल्पलाइनमा सम्पर्क गर्नुहोस्।
7. स्वाबलाई बिस्तारै घुमाउनुहोस्
-
20 सेकेन्डसम्म आफ्नो योनि भित्र स्वाब स्टिकलाई घुमाउनुहोस्।
-
स्वाबलाई बिस्तारै बाहिर निकाल्नुहोस्।
8. स्वाबलाई ट्यूबमा राख्नुहोस्
-
स्वाब स्टिकलाई ट्यूब भित्र राख्नुहोस्।
-
क्लिक गरेको आवाज नआएसम्म बिर्कोलाई ट्यूबमा राखेर थिच्नुहोस्।
9. लेबल भर्नुहोस्
- उपलब्ध गराइएको SafeTPouch को पछाडि रहेको लेबलमा कलम प्रयोग गरेर तपाईंले सेल्फ-टेस्ट गर्नुभएको मिति लेख्नुहोस्।
10. तपाईंको सङ्कलन ट्यूब (collection tube) लाई हुलाकमार्फत पठाउनको लागि तयार गर्नुहोस्
-
आफ्नो सङ्कलन ट्यूबलाई त्यस SafeTPouch भित्र राख्नुहोस्।
-
ट्यूब भित्र रहेको निश्चित गर्नुहोस्, पहेंलो स्ट्रिप/पट्टी निकाल्नुहोस्, अनि बन्द गर्न टुप्पोलाई पट्टाउनुहोस्।
-
SafeTPouch को अगाडिको भागमा निर्देशनहरू हुन्छन्।
11. SafeTPouch लाई खाम भित्र राख्नुहोस्
- SafeTPouch लाई फिर्ता गर्ने खाम भित्र राख्नुहोस् र बन्द गर्नुहोस्।
12. पोस्ट बक्स भित्र हाल्दिनुहोस्
- तपाईंले सेल्फ-टेस्ट लिनुभएको 24 घण्टा भित्र UK को कुनै पनि पोस्ट बक्समा हाल्दिनुहोस्।