Skip to main content
मार्गदर्शन

ब्लडस्पट (रगतको थोप्लो परीक्षण) (Nepali)

अद्यावधिक गरियो 3 जुन 2026

Applies to England

यो छोटो भिडियोले नवजात शिशुहरूको लागि ब्लड स्पट स्क्रिनिङको बारेमा व्याख्या गर्छ।

ब्लडस्पट (रगतको थोप्लो परीक्षण)

NHS द्वारा ब्लड स्पट स्क्रिनिङ सिफारिस गरिन्छ।

स्क्रिनिङको उद्देश्य

ब्लडस्पट स्क्रिनिङको उद्देश्य भनेको तपाईंको शिशुमा केही दुर्लभ तर गम्भीर स्वास्थ्य अवस्थाहरू छन् कि छैनन् भनेर पत्ता लगाउनु हो।

चाँडै उपचार गर्नाले तपाईंको शिशुको स्वास्थ्य सुधार गर्न सक्छ। यसबाट गम्भीर असक्षमता वा मृत्यु पनि रोकिन सक्छ। यदि तपाईं, शिशुको बाबु, वा परिवारको कुनै सदस्यमा यीमध्ये कुनै अवस्था पहिले देखिनै छ भने, कृपया तुरून्तै आफ्नो स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्।

यी अवस्थाहरूका बारेमा

सिकल सेल रोग

संयुक्त अधिराज्यमा जन्मिएका करिब 2,800 मध्ये 1 शिशुमा सिकल सेल रोग (SCD) हुन्छ। यी गम्भीर, वंशानुगत रगत सम्बन्धी रोगहरू हुन्। यसले हीमोग्लोबिनलाई असर गर्छ, जो रगतको एक भाग हो र यसले शरीरमा सबैतिर अक्सिजन बोकेर पुर्याउँछ। सिकल सेल रोग भएका शिशुहरूलाई जीवनभर विशेषज्ञको हेरचाह आवश्यक पर्छ।

सिकल सेल रोग भएका व्यक्तिहरूलाई गम्भीर पीडा हुन सक्छ र गम्भीर सङ्क्रमणहरू हुन सक्छ। यस्ता व्यक्तिहरूलाई रक्तअल्पता (शरीरमा अक्सिजन बोकेर पुर्याउन गाह्रो हुने अवस्था) पनि हुन सक्छ। सिकल सेल रोग भएका शिशुहरूले चाँडै उपचार लिन सक्छन्। यसमा गम्भीर रोग र सङ्क्रमणहरू कम गर्ने खोपहरू र एन्टिबायोटिकहरू दिइन्छ।

सिस्टिक फाइब्रोसिस

संयुक्त अधिराज्यमा जन्मिने करिब 2,500 मध्ये 1 शिशुमा सिस्टिक फाइब्रोसिस (CF) हुन्छ। यो वंशानुगत अवस्थामा पाचन प्रणाली र फोक्सोमा असर पर्छ। सिस्टिक फाइब्रोसिस भएका शिशुहरूको तौल बढ्न गाह्रो हुन सक्छ र प्रायः छातीको सङ्क्रमण हुने गर्छ। सिस्टिक फाइब्रोसिस भएका शिशुहरूलाई प्रारम्भिक रूपमा अधिक ऊर्जायुक्त आहार, औषधि र फिजियोथेरापीबाट उपचार गर्न सकिन्छ। सिस्टिक फाइब्रोसिस भएका बच्चाहरू निकै गम्भीर रूपमा बिरामी हुन सक्ने भएतापनि, प्रारम्भिक उपचारले उनीहरूलाई लामो र स्वस्थ जीवन बिताउन मद्दत गर्न सक्छ।

जन्मजात हाइपोथाइरॉइडिज्म

संयुक्त अधिराज्यमा जन्मिने करिब 2,000 मध्ये 1 शिशुमा जन्मजात हाइपोथाइरॉइडिज्म (CHT) हुन्छ। जन्मजात हाइपोथाइरॉइडिज्म भएका शिशुहरूको शरीरमा पर्याप्त थाइरोक्सिन हर्मोन हुँदैन। थाइरोक्सिन बिना, शिशुहरू राम्ररी बढन सक्दैनन्। उनीहरूमा स्थायी गम्भीर शारीरिक समस्या र सिकाइ सम्बन्धी असक्षमता देखिन सक्छ।

जन्मजात हाइपोथाइरॉइडिज्म भएका शिशुहरूलाई प्रारम्भिक रूपमा थाइरोक्सिन ट्याब्लेट दिएर उपचार गर्न सकिन्छ। यसले अपेक्षित रूपमा उनीहरूको विकासमा सहायता गर्नेछ।

वंशानुगत मेटाबोलिक रोगहरू

यदि तपाईंको परिवारमा मेटाबोलिक स्वास्थ्य समस्याको इतिहास छ भने, आफ्नो स्वास्थ्यकर्मीलाई यसबारे जानकारी दिनु जरूरी हुन्छ। शिशुहरूलाई केही वंशानुगत मेटाबोलिक रोग (IMD) का लागि स्क्रिनिङ परीक्षण गरिन्छ।

यिनीहरू निम्नअनुसार छन्:

  • फिनाइलकेटोन्यूरिया (PKU)
  • मध्यम-श्रृंखला एसिल-कोए डिहाइड्रोजनेज डेफिसिएन्सी (MCADD)
  • मेपल सिरप युरिन रोग (MSUD)
  • आइसोभ्यालेरिक एसिडेमिया (IVA)
  • ग्लुटारिक एसिड्युरिया प्रकार 1 (GA1)
  • होमोसिस्टिनुरिया (पाइरिडोक्सिन-प्रतिक्रिया नगर्ने) (HCU)
  • हेरेडिटरी टायरोसिनेमिया टायप् १ (HT1)

संयुक्त अधिराज्यमा जन्मिएका करिब 10,000 मध्ये 1 शिशुमा फिनाइलकेटोन्यूरिया  वा मेपल सिरप युरिन रोग लागेको हुन्छ। अन्य अवस्थाहरू अझ दुर्लभ छन्, जो 100,000 मध्ये 1 देखि 300,000 मध्ये 1 शिशुमा देखा पर्छन्।

यी वंशानुगत अवस्थाहरू भएका शिशुहरूले खानामा रहेका केही पदार्थहरूलाई प्रशोधन गर्न सक्दैनन्। उपचार बिना, यीमध्ये केही अवस्थाहरू भएका शिशुहरू अचानक गम्भीर रूपमा बिरामी हुन सक्छन्। यी अवस्थाहरूका लक्षणहरू फरक-फरक हुन्छन्। कुनै कुनै प्राण घातक हुन सक्छ वा विकाससम्बन्धी गम्भीर समस्याहरू उत्पन्न गर्न सक्छन्।

यी सबैलाई ध्यानपूर्वक व्यवस्थित आहारद्वारा उपचार गर्न सकिन्छ। प्रत्येक अवस्था अनुसार यो फरक हुन्छ र यसमा थप औषधि समावेश हुन सक्छ।

स्क्रिनिङ परीक्षण

तपाईंको शिशु 5 दिनको भएपछि, स्वास्थ्यकर्मीले विशेष उपकरण प्रयोग गर्दै शिशुको कुर्कुच्चामा छेड्नेछन्। उनीहरूले रगतको केही थोपा कार्डमा सङ्कलन गर्नेछन्। कहिलेकाहीँ यो 5 दिन भन्दा ढिलो पनि हुन सक्छ। कुर्कुच्चामा छेड्दा अप्ठ्यारो हुन सक्छ, र शिशु रून पनि सक्छ। तपाईंले आफ्नो शिशुलाई न्यानो र आराम दिएर, अँगालो हालेर तथा खुवाएर सहयोग गर्न सक्नुहुन्छ।

कहिलेकाहीँ दोस्रो ब्लडस्पट नमूना आवश्यक पर्न सक्छ। यदि यस्तो गर्नु परेमा, यसको कारण बताइनेछ। यसबाट अनिवार्य रूपमा तपाईंको शिशुमा केही समस्या छ भन्ने जनाउँदैन।

यदि तपाईंको बच्चाको स्क्रिनिङ इङ्गल्याण्डमा सुरु गरियो तर दोस्रो नमूना अर्को देशमा लिइन्छ भने, त्यो देशमा अफर गरिएका स्वास्थ्य स्थितिहरु (conditions) को लागि तिनीहरूको स्क्रिनिङ गरिनेछन्। यी इङ्गल्याण्डमा उपलब्ध भएका भन्दा फरक हुन सक्छन्।

परीक्षणको सुरक्षा

यो स्क्रिनिङ परीक्षण गराउँदा कुनै जोखिम हुँदैन।

स्क्रिनिङ तपाईंको विकल्प हो

तपाईंको शिशुका लागि नवजात ब्लडस्पट स्क्रिनिङ परीक्षण गराउने सिफारिस गरिन्छ।

तपाईंले सबै अवस्थाहरूको लागि वा केही विशेष अवस्थाहरूको लागि मात्र पनि स्क्रिनिङ गर्न रोज्न सक्नुहुन्छ।

तपाईंले आफ्नो शिशुको लागि सिकल सेल डिजिज, सिस्टिक फाइब्रोसिस र जन्मजात हाइपोथाइरॉइडिज्म अलग-अलग पनि स्क्रिनिङ गर्न सक्नुहुन्छ। यदि तपाईं आफ्नो शिशुको लागि वंशानुगत मेटाबोलिक रोगको स्क्रिनिङ गराउन चाहनुहुन्छ भने, सबै परीक्षण गरिनेछ। मात्र वंशानुगत मेटाबोलिक रोगको लागि स्क्रिनिङको प्रस्ताव गर्न सकिँदैन।

यदि तपाईं कुनै पनि अवस्थाको लागि आफ्नो शिशुको स्क्रिनिङ गराउन चाहनुहुन्न वा परीक्षणबारे कुनै चिन्ता छ भने, कृपया आफ्नो मिडवाइफसँग कुरा गर्नुहोस्।

चाँडै स्क्रिनिङ गर्दा उत्तम हुन्छ किनभने आवश्यक परेमा उपचार सकेसम्म छिटो सुरू गर्न सकिन्छ। यदि तपाईंले सुरूमा आफ्नो शिशुको स्क्रिनिङ नगर्ने निर्णय गर्नुभयो र पछि विचार बदल्नुभयो भने पनि, तपाईंको शिशुको परीक्षण गर्न सकिन्छ। सबै अवस्थाहरूको लागि शिशुको जन्मदेखि 12 महिनासम्म स्क्रिनिङ गर्न सकिन्छ, तर सिस्टिक फाइब्रोसिसको लागि मात्र भने जन्मदेखि 8 हप्तासम्म परीक्षण गर्न सकिन्छ।

सम्भावित परिणामहरू

नवजात ब्लडस्पट स्क्रिनिङको परिणामहरूमा ‘अवस्थाको आशंका गरिएको छैन’ वा ‘अवस्थाको आशंका गरिएको छ’ भनेर उल्लेख गरिएको हुन्छ।

धेरैजसो परिणामहरूमा परीक्षण गरिएको अवस्थाहरू ‘आशंका गरिएको छैन’ भनेर देखाउनेछन्।

केहीमा परीक्षण गरिएको अवस्थाहरू ‘आशंका गरिएको छ’ भनेर देखाउनेछन्। तर यसको अर्थ तपाईंको शिशुमा पक्कै पनि त्यो अवस्था छ भन्ने होइन, यो हुने सम्भावना बढी हुन्छ भनेको मात्रै हो।

यदि स्क्रिनिङ परिणामले कुनै अवस्थाको आशंका गरिएको देखाउँछ भने, स्वास्थ्यकर्मीले तपाईंलाई फोन वा व्यक्तिगत रूपमा सम्पर्क गर्नेछन्। उनीहरूले तपाईं र तपाईंको शिशुको लागि सो परिणामबाट के अर्थ लाग्छ भनेर बुझाउनेछन् र तपाईंले गर्नुपर्ने कुनै कुरा छ भने जानकारी दिनेछन्।

तपाईंको शिशुको थप परीक्षण गर्न र आवश्यक भएमा उपचार सुरू गर्न विशेषज्ञकहाँ सिफारिस गरिनेछ।

नवजात ब्लडस्पट स्क्रिनिङले केही शिशुहरूलाई सिस्टिक फाइब्रोसिस, सिकल सेल डिजिज वा अन्य रातो रक्तकोषको अवस्था सम्बन्धी जेनेटिक क्यारियर हुन सक्ने सम्भावनाको पत्ता लगाउँछ।

क्यारियरहरू निरोगी हुन्छन् र उनीहरूमा यो रोग हुँदैन। क्यारियरहरूलाई स्वास्थ्य समस्या हुने एकमात्र अवस्था भनेको यस्ता दुर्लभ परिस्थितिहरू हुन् जहाँ उनीहरूको शरीरले पर्याप्त अक्सिजन पाउन सक्दैन। उदाहरणका लागि, यदि उनीहरूलाई एनेस्थेसिया दिएर शल्यचिकित्सा गरिन्छ भने।

यदि तपाईंको शिशु जेनेटिक क्यारियर हो भने, स्वास्थ्यकर्मीले तपाईंलाई सम्पर्क गर्नेछन् वा यसको अर्थ के हो भन्ने जानकारी तपाईंले पत्रमार्फत पाउनुहुनेछ। तपाईंको शिशुलाई कुनै उपचार गर्नु पर्दैन, तर थप परीक्षण आवश्यक पर्न सक्छ। स्क्रिनिङले सबै क्यारियरहरू पत्ता लगाउँदैन।

मेरो परिणाम प्राप्त गर्ने

यदि स्क्रिनिङ गरिएको कुनै अवस्थाको आशंका गरिएको छ भने, तपाईंलाई विशेषज्ञ चिकित्सा टोलीले सम्पर्क गर्नेछ। यसको उद्देश्य परिणामहरूबारे बुझाउनु हो र तपाईंको शिशुको लागि थप परीक्षण प्रस्ताव गर्नु हो। यीमध्ये केही थप परीक्षणहरू चाँडै गर्नु जरूरी हुन्छ। विशेषज्ञ टोलीबाट तपाईंलाई सम्पर्क गर्न खोज्दा यसको बेवास्ता गर्नु हुँदैन।

यदि स्क्रिन गरिएको कुनै अवस्थाको आशंका गरिएको छैन भने, तपाईंले 6 हप्ताभित्र पत्रमार्फत वा स्वास्थ्य भ्रमणकर्ता मार्फत परिणाम पाउनु हुनेछ।

परिणाम तपाईंको शिशुको व्यक्तिगत बाल स्वास्थ्य रेकर्ड (‘रेड बुक’) मा रेकर्ड गरिनु पर्छ। कृपया यसलाई सुरक्षित राख्नुहोस् र कुनै पनि आगामी एपोइन्टमेन्टमा साथै लिएर जानुहोस्।

मेरो शिशुको ब्लडस्पट कार्ड र स्क्रिनिङपछिको डेटा

स्क्रिनिङपछि, ब्लडस्पट कार्डहरू कम्तीमा 5 वर्षसम्म राखिन्छन् र निम्न उद्देश्यका लागि प्रयोग हुन सक्छन्:

  • परिणाम जाँच गर्न वा तपाईंको चिकित्सकले सिफारिस गरेको अन्य परीक्षणहरूको लागि (यदि परिणामद्वारा तपाईंको शिशुको स्वास्थ्यमा असर पार्न सक्छ भने, तपाईंलाई सम्पर्क गरिनेछ)
  • इङ्ल्यान्डमा स्क्रिनिङको लागि पहिलादेखि नै स्वीकृत अवस्थाहरूको स्क्रिनिङ कार्यक्रम वा परीक्षण विधिहरूमा सुधार गर्न मद्दत गर्न (यदि परिणामद्वारा तपाईंको शिशुको स्वास्थ्यमा असर पार्न सक्छ भने, तपाईंलाई सम्पर्क गरिनेछ)
  • संयुक्त अधिराज्यमा शिशु र उसको परिवारहरूको स्वास्थ्यमा सुधार गर्न सहयोग पुर्याउने अनुसन्धानका लागि (यसले तपाईंको शिशुको पहिचान हुने छैन, र तपाईंलाई सम्पर्क गरिने छैन)

यस बाहेक, अनुसन्धानकर्ताहरूले तपाईं वा तपाईंको बच्चालाई नवजात ब्लडस्पट स्क्रिनिङ कार्यक्रमसँग सम्बन्धित जानकारी सङ्कलनमा भाग लिन बोलाउने सानो सम्भावना हुनेछ। थप कुनै कुराको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले के गरिँदैछ भनेर बुझाउनेछन् र त्यसपछि तपाईंलाई सो अध्ययनमा भाग लिन चाहनुहुन्छ कि चाहनुहुँदैन भनेर सोधिनेछ। यदि तपाईं अतिरिक्त जानकारी सङ्कलनमा भाग लिने उद्देश्यले सम्पर्क गरेको चाहनुहुँदैन भने, कृपया आफ्नो मिडवाइफलाई जानकारी दिनुहोस्।

ब्लडस्पट कार्डहरूको सबै प्रयोग आचार संहिता द्वारा नियन्त्रित हुनेछ। कुनै पनि अनुसन्धान स्वतन्त्र अनुसन्धान नैतिकता समितिबाट स्वीकृति लिएको हुनेछ।

थप जानकारी र सहयोग समूहहरूबारे जान्न NHS.UK मा जानुहोस्।