श्रवण क्षति (Nepali)
अद्यावधिक गरियो 3 जुन 2026
Applies to England
यो छोटो भिडियोमा नवजात शिशुहरूमा श्रवण क्षतिका लागि गरिने स्क्रिनिङ परीक्षणबारे बताइएको छ।
श्रवण क्षतिका लागि स्क्रिनिङ राष्ट्रिय स्वास्थ्य सेवाद्वारा सिफारिस गरिएको छ।
स्क्रिनिङको उद्देश्य
हामी यो स्क्रिनिङ श्रवण क्षति भएको हुन सक्ने शिशुहरूको पत्ता लगाउनका लागि गर्छौं, जसो गर्दा सुरूदेखि नै हेरचाह, सहयोग र सल्लाह प्रदान गर्न सकिने हुन्छ।
यो स्वास्थ्य अवस्थाका बारेमा
प्रत्येक 1,000 शिशु मध्ये 1 देखि 2 जना शिशु एउटा वा दुवै कानमा स्थायी श्रवण क्षति सहित जन्मिन्छन्। विशेष हेरचाह इकाइमा कम्तीमा 48 घण्टा बिताएका शिशुहरूमा उक्त संख्यामा वृद्धि भएर करिब प्रत्येक 100 मध्ये 1 (1%) मा पुग्छ। यीमध्ये धेरैजसो शिशुहरू श्रवण क्षतिको कुनै इतिहास नभएका परिवारमा जन्मिन्छन्।
स्थायी श्रवण क्षतिको कारण शिशुको विकासमा ठूलो प्रभाव पर्न सक्छ। श्रवण क्षतिको समस्याबारे छिट्टै थाहा पाएमा शिशुहरूलाई भाषा, वाक र संचार कौशल विकास गर्ने राम्रो अवसर मिल्छ। यसबाट उनीहरूको परिवारले आवश्यक सहयोग प्राप्त गर्ने पनि सुनिश्चित गर्न मद्दत पुग्छ। यसले शिशुहरूलाई प्रारम्भिक उमेरदेखि आफ्ना परिवार र हेरचाहकर्तासँगको सम्बन्धबाट अधिकतम फाइदा उठाउन सहायता गर्नेछ।
स्क्रिनिङ परीक्षण
तपाईंको बच्चालाई नवजात शिशुको श्रवण स्क्रिनिङ परीक्षण अस्पतालबाट डिस्चार्ज हुनुअघि वा तपाईं घरमा हुँदा प्रस्ताव गरिनेछ। वैकल्पिक रूपमा, तपाईंलाई क्लिनिकमा बोलाईनेछ। सैद्धान्तिक रूपमा, स्क्रिनिङ परीक्षण पहिलो 4 हप्ताभित्र गराउनु पर्छ, तर यो 3 महिना भित्र कुनै पनि समयमा गर्न सकिन्छ।
AOAE (अटोमेटेड ओटोअकुस्टिक एमिसन) नामक स्क्रिनिङ परीक्षण केही मिनेटमा नै पूरा हुन्छ। तपाईंको बच्चाको कानमा नरम टुप्पा भएको सानो इयरपीस राखिन्छ र हल्का क्लिक गर्ने ध्वनि बजाइन्छ। जब कानमा आवाज पुग्छ, भित्री भाग (कोक्लिया भनिन्छ) बाट प्रतिक्रिया आउँछ। यो स्क्रिनिङ उपकरणद्वारा पत्ता लगाइन्छ।
पहिलो स्क्रिनिङ परीक्षणबाट सधैं स्पष्ट प्रतिक्रिया पाउन सम्भव हुँदैन। यसको अर्थ तपाईंको बच्चालाई अनिवार्य रूपमा श्रवण क्षति छ नै भन्ने होइन। यसको अर्थ निम्न अनुसार हुन सक्छ:
- परीक्षण अवधिमा तपाईंको बच्चा अस्वस्थ वा अशान्त थियो
- पृष्ठभूमिमा हल्ला हुँदैथियो
- तपाईंको बच्चाको कानमा तरल पदार्थ वा कुनै अस्थायी अवरोध थियो – यो धेरै सामान्य कुरा हो र समयसँगै ठीक हुन्छ।
- तपाईंको बच्चालाई श्रवण क्षति छ
यदि तपाईंको बच्चाले स्पष्ट प्रतिक्रिया देखाएन भने, अर्को स्क्रिनिङ परीक्षणको प्रस्ताव गरिनेछ। यो पहिलो स्क्रिनिङ परीक्षणमा जस्तै हुन सक्छ, वा AABR (अटोमेटेड अडिटोरी ब्रेनस्टेम रिस्पन्स) नामक अर्को प्रकारको परीक्षण हुन सक्छ।
यसमा तपाईंको बच्चाको निधार, घाँटीको पछाडिको भाग र काँधमा 3 वटा साना सेन्सरहरू राखिन्छन्। तपाईंको बच्चाका कानमाथि नरम हेडफोन राखिन्छ र हल्का क्लिक गर्ने ध्वनि बजाइन्छ। स्क्रिनिङ उपकरणले तपाईंको बच्चाको श्रवण सम्बन्धी स्नायुले आवाजमा प्रतिक्रिया देखाउँछ कि देखाउँदैन भनेर बताउन सक्छ। यसले हामीलाई तपाईंको बच्चालाई श्रवण क्षति छ कि छैन भनेर पत्ता लगाउन मद्दत गर्नेछ।
यो स्क्रिनिङ परीक्षणमा लगभग 15 मिनेट लाग्न सक्छ। तपाईंको बच्चा शान्त वा सुतिरहेको हुन जरूरी छ।
परीक्षणको सुरक्षा
यो स्क्रिनिङ परीक्षण गराउँदा कुनै जोखिम हुँदैन।
स्क्रिनिङ तपाईंको विकल्प हो
यो स्क्रिनिङ परीक्षण तपाईंको बच्चाका लागि सिफारिस गरिएको छ। श्रवण क्षति चाँडै थाहा पाएमा तपाईंको बच्चाको विकासका लागि सहयोग पुग्छ।
परीक्षण नगर्ने निर्णय
यदि तपाईंले नवजात शिशुको श्रवण स्क्रिनिङ परीक्षण नगराउने निर्णय गर्नुभएमा, उनीहरू ठूलो भएपछि बच्चाको श्रवण जाँच गर्न सहयोग गर्ने तपाईंलाई चेकलिस्ट दिइनेछ। यदि तपाईंको कुनै समस्या वा प्रश्न छ भने, तपाईंले आफ्नो स्वास्थ्य भ्रमणकर्ता वा प्राथमिक चिकित्सकसँग कुरा गर्नुपर्छ।
सम्भावित परिणामहरू
यदि तपाईंको बच्चाले दुवै कानमा स्पष्ट प्रतिक्रिया देखाएमा, उनीहरूलाई स्थायी श्रवण क्षति हुने सम्भावना कम देखिन्छ। तर, नवजात शिशुको श्रवण स्क्रिनिङले सबै प्रकारका श्रवण क्षति पत्ता लाग्दैन। साथै, बच्चाहरूमा पछि गएर पनि श्रवण क्षति उत्पन्न हुन सक्छ। तपाईंको बच्चा ठूलो हुँदै जाँदा उनीहरूको श्रवण जाँच गर्नु जरूरी छ। तपाईंको बच्चाको व्यक्तिगत बाल स्वास्थ्य रेकर्ड (‘रेड बुक’) मा दिइएको चेकलिस्टमा यो कसरी गर्ने भनेर बताइएको हुन्छ। यदि तपाईंलाई बच्चाको श्रवणबारे कुनै चासो छ भने, आफ्नो स्वास्थ्य भ्रमणकर्ता वा प्राथमिक चिकित्सकलाई जानकारी दिनुहोस्।
यदि स्क्रिनिङ परीक्षणको परिणाममा तपाईंको बच्चाको एक वा दुवै कानले स्पष्ट प्रतिक्रिया देखाएन भने, श्रवण विशेषज्ञसँग भेटघाट तय गरिनेछ।
तपाईंको बच्चालाई स्क्रिनिङ परीक्षणको 4 हप्ताभित्र श्रवण विशेषज्ञले हेर्नु पर्छ।
तपाईंको बच्चालाई श्रवण भेटघाटमा ल्याउनु अत्यन्तै महत्वपूर्ण छ। किनभने यदि श्रवण क्षति छ भने, सम्भावित कारण पत्ता लगाउन अन्य परीक्षणहरू आवश्यक पर्न सक्छ। यी परीक्षणहरू जन्मेको पहिलो केही हप्ताभित्र गरिनु पर्छ।
हरेक 100 शिशु मध्ये करिब 2 देखि 3 (2–3%) जनामा स्क्रिनिङ परीक्षणमा स्पष्ट प्रतिक्रिया देखिँदैन।
अडियोलोजी क्लिनिकमा परीक्षण गरिएका प्रत्येक 15 मध्ये करिब 1 शिशु (7%) को एक वा दुवै कानमा स्थायी श्रवण क्षति हुन्छ। केहीलाई अस्थायी श्रवण क्षति पनि हुन सक्छ।
मेरो परिणाम प्राप्त गर्ने
श्रवण स्क्रिनिङ परीक्षण सम्पन्न हुने बित्तिकै तपाईंलाई बच्चाको परिणाम दिइनेछ।
थप जानकारी र सहयोग समूहहरूबारे जान्न NHS.UK मा जानुहोस्।