Skip to main content
मार्गदर्शन

सङ्क्रमणजन्य रोगहरू (Nepali)

अद्यावधिक गरियो 3 जुन 2026

Applies to England

यो छोटो एनिमेशनमा गर्भावस्थाको बेला सङ्क्रमणजन्य रोगहरूको स्क्रिनिङ परीक्षण किन महत्वपूर्ण छ भनेर बताइएको छ।

सङ्क्रमणजन्य रोगहरू

गर्भावस्थामा सङ्क्रमणजन्य रोगहरूको स्क्रिनिङ परीक्षण राष्ट्रिय स्वास्थ्य सेवाद्वारा सिफारिस गरिएको छ।

स्क्रिनिङको उद्देश्य

तपाईंमा हेपाटाइटिस B, HIV (ह्युमन इम्युनोडेफिसेन्सी भाइरस) वा सिफिलिस छ वा छैन भनेर जान्नका लागि हामी स्क्रिनिङको प्रस्ताव गर्छौं। ह्युमन इम्युनोडेफिसेन्सी भाइरस, हेपाटाइटिस B र/वा सिफिलिस भएको महिलाहरूका लागि चाँडै विशेषज्ञसँग भेट जरूरी हुन्छ। गर्भावस्थामा हेरचाह योजना बनाउनको लागि यसो गर्नु पर्छ।

पहिला देखिनै ह्युमन इम्युनोडेफिसेन्सी भाइरस, हेपाटाइटिस B छ भने अथवा विगतमा सिफिलिसको उपचार गराउने महिलाहरूलाई पनि प्रत्येक पटकको गर्भावस्थामा परीक्षण गराउने सिफारिस गरिन्छ। यदि तपाईंमा पहिला यी कुनै पनि सङ्क्रमणको निदान गरिएको छ भने कृपया उक्त अवस्थाहरूका बारेमा तपाईंको मिडवाइफ वा स्वास्थ्य पेशेवरलाई बताउनुहोस्।

यी अवस्थाहरूका बारेमा

हेपाटाइटिस B, ह्युमन इम्युनोडेफिसेन्सी भाइरस र सिफिलिस भनेको रगत र शरीरको तरल पदार्थबाट सर्न सक्ने रोग हुन्। यौन सम्पर्कबाट वा नशाबाट लागू औषध हाल्दा संक्रमित सुई वा उपकरण साझा गरेर चलाउँदा यो सर्न सक्छ। यी भाइरसहरू गर्भावस्था र/वा बच्चा जन्मेको समयमा बच्चामा पनि सर्न सक्छन्।

हेपाटाइटिस B

हेपाटाइटिस B भाइरसले कलेजोमा असर गर्छ। यसबाट तात्कालिक र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। जन्मेको समयमा वा जीवनको पहिलो वर्षमा सङ्क्रमित हुने बच्चाहरूलाई दीर्घकालीन हेपाटाइटिस B सङ्क्रमण हुने 9 मा 10 (90%) सम्भावना हुन्छ । यसले कलेजोको समस्या र क्यान्सर जस्ता रोगहरू निम्त्याउन सक्छ। यदि बच्चाले खोपको पूरा कोर्स पूरा गरेको छ भने जोखिम उल्लेखनीय रूपमा घटेर करिब 10 मा 1 (10%) मा पुग्छ।

ह्युमन इम्युनोडेफिसेन्सी भाइरस

ह्युमन इम्युनोडेफिसेन्सी भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ, जसले गर्दा सङ्क्रमणसँग लड्न कठिन हुन्छ। यदि उपचार नगरेमा, यो गर्भावस्थाको बेलामा, जन्म दिने बेला वा स्तनपान मार्फत बच्चामा सर्न सक्छ। गर्भावस्थामा उपचार गर्नाले ह्युमन इम्युनोडेफिसेन्सी भाइरस सर्ने सम्भावना 1 मा 4 (25%) बाट 1,000 मा 4 भन्दा कम (0.4%) मा घटाउँछ। बच्चामा सङ्क्रमणको सम्भावना घटोस् भनेर बच्चा जन्माउने बेला पनि उपचार गर्न सकिन्छ।

सिफिलिस

सिफिलिस असुरक्षित यौन सम्पर्कमार्फत सर्ने रोग हो। यो गर्भावस्थाको बेलामा बच्चामा सर्न सक्छ। यदि गर्भावस्थामा उपचार नगरिएमा, यसले बच्चामा गम्भीर स्वास्थ्य र विकास सम्बन्धी समस्या उत्पन्न गर्न सक्छ। यसको कारण गर्भपतन हुने वा मृत शिशु जन्मने पनि हुन सक्छ। गर्भावस्थामा उपचार गराउनाले बच्चामा सङ्क्रमण हुने सम्भावना घट्न सक्छ।

स्क्रिनिङ परीक्षण

रगत प्रायः तपाईंको हातको नसाबाट लिइन्छ।

रगतको नमूना लिंदै गरेको अवस्था

यो रगतको थोरै मात्रा प्रयोगशालामा राखिन्छ। यदि तपाईंको गर्भावस्थामा अन्य सङ्क्रमण वा खटिराका लक्षणहरू देखिएमा, परीक्षणका लागि यसैलाई प्रयोग गर्न सकिन्छ।

परीक्षणको सुरक्षा

यो परीक्षणमा कुनै जोखिम छैन।

स्क्रिनिङ परीक्षण तपाईंको विकल्प हो

यी परीक्षणहरू जोड दिएर सिफारिस गरिन्छन्। यी परीक्षणहरूले तपाईंको गर्भावस्थामा स्वास्थ्यको रक्षा गर्न सक्छन् र आवश्यक परेमा चाँडै  उपचार र हेरचाहको व्यवस्था गर्न सकिन्छ। यसले तपाईंको बच्चा, पार्टनर वा अन्य परिवारका सदस्यमा सङ्क्रमण सर्ने सम्भावना पनि धेरै घटाउँछ।

परीक्षण नगर्ने निर्णय

यदि तपाईंले परीक्षण नगर्ने निर्णय गर्नुभएमा, तपाईंलाई गर्भावस्थामा पछि, प्राय 20 हप्ताभित्र, फेरि स्क्रिनिङको प्रस्ताव गरिनेछ। तपाईंले गर्भावस्था सम्बन्धी स्क्रिनिङ टोली वा यौन स्वास्थ्य टोलीका सदस्यसँग परीक्षण सम्बन्धी छलफल गर्न प्रोत्साहन गरिन्छ।

यदि तपाईंले सङ्क्रमणजन्य रोगहरूको स्क्रिनिङ नगर्ने निर्णय गर्नुभएमा, हामी यसलाई रेकर्डमा राख्नेछौं। कतिजनाले स्क्रिनिङ नगर्ने निर्णय गर्छन् भनेर राष्ट्रिय स्वास्थ्य सेवा इङ्ग्ल्याण्डले जान्न चाहेको कारण यसो गरिन्छ। यो कुरा बुझेमा गर्भावस्थाको बेला आमा र बच्चा दुवैका लागि राम्रो हुन सक्नेछ।

नकरात्मक परिणाम

नकरात्मक परिणाम देखिएमा तपाईंको रगतको नमूना लिएको बेला तपाईं नकरात्मक हुनुहुन्थ्यो भन्ने बुझिन्छ। तपाईं अझैपनि गर्भावस्थाको कुनै पनि समयमा सङ्क्रमित हुन सक्नुहुन्छ।

यदि तपाईंमा लक्षण देखा परेमा वा पुनः परीक्षण आवश्यक भए जस्तो लागेमा, सकेसम्म चाँडो आफ्नो मिडवाइफ वा प्राथमिक चिकित्सकसँग कुरा गर्नुहोस्।

तपाईं र तपाईंको पार्टनरले कुनै पनि बेला परीक्षण गराउन सक्नुहुन्छ र स्थानीय यौन स्वास्थ्य सेवाहरू कुनै पनि बेला पाउन सक्नुहुन्छ। निम्न अवस्थामा हामी पुनः परीक्षण सिफारिस गर्छौं:

  • तपाईंले आफ्नो यौन पार्टनर बद्लेमा
  • तपाईंको पार्टनर अरू व्यक्तिसँग पनि यौन सक्रिय छन् भने
  • तपाईंको पार्टनरलाई यौन सङ्क्रमित रोग (STI) निदान गरिएको छ भने
  • तपाईंले सुईद्वारा मनोरञ्जनात्मक औषधि लिनुहुन्छ भने
  • तपाईं सेक्स वर्कर हुनुहुन्छ भने

सकारात्मक परिणाम

ह्युमन इम्युनोडेफिसेन्सी भाइरस

यदि तपाईं ह्युमन इम्युनोडेफिसेन्सी भाइरससँग बाँच्नुहुँदैछ भने, उपचार र विशेषज्ञको स्वास्थ्य हेरचाहले बच्चामा यो सर्ने सम्भावना धेरै कम हुन सक्छ। सामान्यतया तपाईंलाई स्तनपान नगराउने सिफारिस गरिन्छ। तर, तपाईंले ह्युमन इम्युनोडेफिसेन्सी भाइरसको उचित उपचार लिनुहुँदैछ भने यसमा सहयोग गर्न सकिन्छ। यस बारेमा तपाईंले आफ्नो स्वास्थ्य टोलीसँग छलफल गर्नुपर्छ।

हेपाटाइटिस B

यदि तपाईंलाई हेपाटाइटिस B छ भने, बच्चा जन्माउनु अघि र पछि पनि विशेषज्ञ टोलीले तपाईंको स्वास्थ्य जाँच गर्नु जरूरी हुन्छ। तपाईंको पार्टनर, अन्य बच्चा र परिवारका निकट सदस्यहरूलाई पनि परीक्षण गराउने र खोप लगाउने सिफारिस गरिन्छ।

तपाईंको बच्चा जन्मँदा बच्चा तपाईंको रगतको सम्पर्कमा आउँछ। यसले गर्दा, भाइरस बच्चामा सर्न सक्छ।

त्यसैले सिफारिस गरिएका सबै 6 वटा हेपाटाइटिस B खोपहरू तपाईंको बच्चालाई सही समयमा दिनु अत्यन्तै महत्वपूर्ण छ। यसले तपाईंको बच्चामा दीर्घकालीन हेपाटाइटिस B हुने जोखिमलाई 10 मध्ये 9 (90%) बाट घटाएर 10 मध्ये 1 (10%) मा पुर्याउनेछ। यदि यी मध्ये कुनै पनि नभएमा, तपाईंको प्राथमिक चिकित्सक, प्र्याक्टिस नर्स वा स्वास्थ्य भ्रमणकर्तालाई सोध्नुहोस्। खोप निम्न अनुसार लगाएको हुनुपर्छ:

  • जन्मेको 24 घण्टाभित्र
  • 4 हप्ताको उमेरमा
  • 8, 12, र 16 हप्ताको उमेरमा (सामान्य बाल्यकालीन खोप तालिकाको भाग अन्तर्गत)
  • 18 महिनाको उमेरमा

तपाईंको बच्चालाई पहिलो खोपका साथै रगतको परीक्षण र एन्टिबडीको इन्जेक्सन (हेपाटाइटिस B इम्युनोग्लोबुलिन) पनि आवश्यक पर्न सक्छ।

तपाईंको बच्चाको अन्तिम खोपको समयमा रगतको परीक्षण पनि गराउनु पर्छ। यो 12 देखि 18 महिनाको उमेर भित्र गरिन्छ। यो जाँच गर्नुको उद्देश्य संक्रमणको समस्या टरेर गयो कि गएन भनेर हेर्नु हो।

सिफिलिस

यदि तपाईंलाई सिफिलिस छ भने, विशेषज्ञ यौन स्वास्थ्य टोलीमा सिफारिश गर्नु आवश्यक हुन्छ। सामान्यतया एन्टिबायोटिकको कोर्सद्वारा यसको उपचार गरिन्छ। यदि तपाईंले यो उपचार लिनुहुन्छ भने, तपाईंको बच्चाको लागि सुरक्षित नै हुन्छन्। टोलीले तपाईंको पार्टनरको पनि परीक्षण गर्ने प्रस्ताव गर्नेछ उनीहरूलाई उपचार आवश्यक पर्छ कि पर्दैन भनेर जान्न।

यदि तपाईंलाई गर्भावस्थामा सिफिलिसको उपचार गर्नु परेमा, तपाईंको बच्चालाई जन्मपछि परीक्षण र रगतको परीक्षण गर्नुपर्नेछ। उनीहरूलाई एन्टिबायोटिक पनि आवश्यक पर्न सक्छ। तपाईंको बच्चालाई 3 महिनाको उमेर भएपछि फलो-अप जाँच गर्नु आवश्यक हुनेछ।  उनीहरूमा संक्रमणका कुनै लक्षण छैनन् भन्ने सुनिश्चित गर्नको लागि यसो गरिन्छ।

मेरो परिणाम प्राप्त गर्ने

यदि तपाईंको परिणाम नकारात्मक छ भने, तपाईंको मिडवाइफले यसबारे तपाईंसँग छलफल गर्नेछन्। यो तपाईंको अर्को पटक प्रसूति पूर्व भेटघाटमा, करिब 16 हप्तामा वा त्यसअघि हुनेछ। यसलाई तपाईंको विवरणमा पनि रेकर्ड गरिनेछ।

यदि ह्युमन इम्युनोडेफिसेन्सी भाइरस, हेपाटाइटिस B वा सिफिलिसको जाँच गर्दा तपाईंको परिणाम सकारात्मक आएमा, एउटा विशेषज्ञ मिडवाइफले तपाईंलाई सम्पर्क गर्नेछ। उनीहरूले परिणाम आएको 5 दिन भित्र भेटघाटको व्यवस्था गर्नेछन्। उनीहरूले परिणामबारे छलफल गर्दै थप परीक्षणहरू गर्नेछन् साथै तपाईंसँग मिलेर तपाईंको हेरचाहको योजना बनाउनेछन्।

थप जानकारी र सहयोग समूहहरूबारे जान्न NHS.UK मा जानुहोस्।