11 वटा शारीरिक अवस्थाहरू (20 हप्ताको स्क्यान) (Nepali)
अद्यावधिक गरियो 3 जुन 2026
Applies to England
यो छोटो भिडियोमा गर्भावस्थामा 11 वटा शारीरिक अवस्थाहरूको स्क्रिनिङ परीक्षणबारे बताइएको छ।
11 वटा शारीरिक अवस्थाहरू (20 हप्ताको स्क्यान)
स्क्रिनिङको उद्देश्य
यो स्क्यान गर्भावस्थाको 18 हप्तादेखि 20 हप्ता र 6 दिनको अवधिभित्र गरिन्छ। सामान्यतया यसलाई 20 हप्ताको स्क्रिनिङ स्क्यान भनिन्छ।
यो स्क्यानले तपाईंको बच्चामा 11 वटा विभिन्न अवस्थाहरू (समस्या) को खोजी गर्छ। यसले सबै सम्भावित समस्याहरूको पत्ता लगाउन सक्छ भन्ने हुँदैन।
यी अवस्थाहरूका बारेमा
स्क्यानमा तपाईंको बच्चाको मस्तिष्क, अनुहार, मुटु, हड्डी, मेरूदण्ड, पेट र मिर्गौलालाई विस्तृत रूपमा हेरिन्छ।
धेरैजसो अवस्थामा स्क्यानमा तपाईंको बच्चाको विकास अपेक्षित रूपमा हुँदै गरेको देखिन्छ। तर, कहिलेकाहीँ भने कुनै अवस्थाको पत्ता लाग्न सक्छ वा शंका हुन सक्छ। केही कुरा अरूभन्दा स्पष्ट रूपमा देखिन्छन्। उदाहरणका लागि, केही शिशुहरूमा ओपन स्पाइना बिफिडा नामक अवस्था हुन्छ, जसले मेरूदण्डलाई असर गर्छ।
स्पाइना बिफिडा प्रायः स्क्यानमा स्पष्ट रूपमा देखिन्छ। यस अवस्थामा रहेका करिब 10 मध्ये 9 जना शिशु (90%) मा यो स्क्यानद्वारा थाहा हुनेछ।
मुटु सम्बन्धी समस्याहरू थाहा पाउन कठिन हुन्छ। मुटु सम्बन्धी अवस्था भएका शिशुहरू मध्ये करिब आधा (50%) मा स्क्यानद्वारा पत्ता लाग्छ।
स्क्यानमा देखिने केही अवस्थाहरूमा जन्मपछि बच्चाको उपचार वा शल्यक्रिया आवश्यक हुन सक्छ (उदाहरणका लागि, क्लेफ्ट लिप)। थोरै मामलामा, केही अत्यन्त गम्भीर अवस्थाहरू पत्ता लाग्छन्। उदाहरणका लागि, बच्चाको मस्तिष्क, मिर्गौला, आन्तरिक अंग वा हड्डीहरू ठीकसँग विकास नभएको हुन सक्छ। कुनै उपचार नै सम्भव नहुने केही अत्यन्त गम्भीर दुर्लभ मामलाहरूमा, भने बच्चा जन्मिएपछि वा गर्भावस्थामा नै मर्नेछ।
यस स्क्यानमा खोजिने मुख्य अवस्थाहरूबारे विस्तृत जानकारी NHS.UK मा पाइन्छ।
स्क्रिनिङ परीक्षण
धेरैजसो स्क्यानहरू सोनोग्राफर भनिने विशेष रूपमा तालिमप्राप्त कर्मचारीहरूले गर्नेछन्।
तपाईंको बच्चालाई स्पष्ट देख्नलाई, स्क्यान कुनै हल्का अँध्यारो कोठामा गरिन्छ। सोनोग्राफरले स्क्रीनलाई सिधै आफ्नो तर्फ वा कुनामा राख्नु पर्ने हुन सक्छ।
- तपाईंलाई सोफामा ढल्किन लगाइनेछ।
- तपाईंले माथिको लुगा छातीसम्म सार्नु पर्छ र स्कर्ट वा प्यान्ट क्म्मरसम्म तल झार्नु पर्नेछ।
- लुगामा अल्ट्रासाउन्ड जेल नलागोस् भनेर, तपाईंको लुगामा टिस्यु पेपर राखिन्छ। जेल तपाईंको पेटमा लगाइनेछ। जेल चिसो हुन सक्छ।
- सोनोग्राफरले प्रोब नामक उपकरणलाई तपाईंको पेटमा सार्दै बच्चाको शरीर ध्यानपूर्वक परीक्षण गर्नेछन्। जेलले प्रोब र तपाईंको छालाबीच राम्रो सम्पर्क कायम गर्छ।
एपोइन्टमेन्टमा सामान्यतया 30 मिनेट लाग्नेछ।
यो स्क्यान गर्दा दुख्दैन। तर, बच्चालाई स्पष्ट देख्नको लागि सोनोग्राफरले हल्का थिच्नु पर्ने हुन सक्छ। यसो गर्दा अलिक अप्ठ्यारो हुन सक्छ। अल्ट्रासाउन्ड स्क्रीनमा तपाईंको बच्चाको कालो र सेतो तस्वीर देखिनेछ।
स्क्यानको समयमा सोनोग्राफर चुपचाप हुन सक्छ। उनीहरूले स्क्यान राम्रो हुन सकोस् भनेर ध्यान लगाउनु महत्वपूर्ण हुन्छ।
तपाईंको स्क्यानको क्रममा, सोनोग्राफरले कुनै अन्य कर्मचारीको पनि राय लिन सक्छन्।
कहिलेकाहीँ तपाईंको बच्चालाई स्पष्ट रूपमा देख्न कठिन हुन्छ। तपाईंको बच्चा असजिलो स्थितिमा रहेको छ वा तपाईंको तौल सामान्य भन्दा बढी छ भने यस्तो हुन सक्छ। अर्थात तपाईंले चिन्ता गर्नु पर्ने कुनै कुरा छैन।
यदि यस्तो भएमा, तपाईंलाई गर्भावस्थाको 23 हप्ताभित्र अर्को स्क्यान गराउने प्रस्ताव गरिनेछ। सोनोग्राफरले अर्को एपोइन्टमेन्टमा स्क्यान पूरा गर्ने प्रयास गर्नेछन्, तर सधैं सम्भव नहुन सक्छ।
धेरै दुर्लभ स्थितिमा, अर्को पटकको स्क्यान पनि पूरा हुन सक्दैन। यदि यस्तो भयो भने, अझै अर्को स्क्रिनिङ स्क्यान प्रस्ताव गरिने छैन। तपाईंको शिशुको जन्मपछि शारीरिक परीक्षण गरिनेछ।
तपाईंको बच्चाको लिङ्ग जान्नु यस स्क्यानको उद्देश्य होइन, तर यदि सजिलै देखिएमा धेरैजसो अस्पतालमा तपाईंलाई बताइदिनेछन्। यदि तपाईंको बच्चाको लिङ्ग देखिएन भने, अर्को स्क्यान प्रस्ताव गरिने छैन।
स्क्यान गराउन आउँदा तपाईंको मूत्राशय पूर्ण हुनु आवश्यक पर्न सक्छ। यो कुरा तपाईंको एपोइन्टमेन्ट लिँदा स्पष्ट गर्नु पर्छ। यदि तपाईंलाई निश्चित थाहा नभए, अस्पताललाई सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईंलाई आफूसँगै एपोइन्टमेन्टमा कसैलाई लैजान मन पर्न सक्छ। धेरैजसो अस्पतालमा बच्चालाई स्क्यानमा जाने अनुमति हुँदैन्। कृपया एपोइन्टमेन्ट अघि नै यसबारे अस्पताललाई सोध्नुहोस्।
परीक्षणको सुरक्षा
अल्ट्रासाउन्ड स्क्यान गराउँदा तपाईं वा तपाईंको बच्चालाई कुनै ज्ञात जोखिम हुँदैन। स्क्यान गराउने वा नगराउने भनेर विचार गर्नु महत्वपूर्ण छ। स्क्यानबाट यस्तो जानकारी आउन सक्छ जसले थप महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था उत्पन्न गर्छ। उदाहरणका लागि, तपाईंलाई थप परीक्षणहरू गराउने प्रस्ताव गरिन सक्छन् जसमा गर्भपतनको जोखिम रहन्छ।
स्क्रिनिङ तपाईंको विकल्प हो
तपाईंले स्क्यान गराउनै पर्छ भन्ने छैन। केही मानिसहरू आफ्ना बच्चामा ती 11 वटा शारीरिक अवस्थाहरूमध्ये कुनै छ कि छैन भनेर जान्न चाहन्छन् भने कोही चाहँदैनन्।
यदि तपाईंले यो स्क्यान गराउनु भएमा, परिणामको आधारमा तपाईंले महत्वपूर्ण व्यक्तिगत निर्णय लिनुपर्ने हुन सक्छ। तपाईं जे निर्णय लिएपनि, तपाईंलाई स्वास्थ्य टोलीले सहयोग गर्नेछ।
परीक्षण नगर्ने निर्णय
यदि तपाईंले स्क्यान नगर्ने निर्णय लिएमा पनि तपाईंको गर्भावस्थाको नियमित सबै अन्य हेरचाहहरू प्राप्त गर्न सक्नुहुन्छ।
सम्भावित नतिजाहरू
धेरैजसो स्थितिमा, स्क्यानमा बच्चाको विकास अपेक्षित रूपमा हुँदै गरेको र परीक्षण गरिएको 11 वटा शारीरिक अवस्थाहरूमध्ये कुनै छैन भन्ने देखिनेछ।
तपाईंको स्क्यानको क्रममा कुनै अप्रत्याशित कुरा देखिएमा तपाईंलाई जानकारी दिइनेछ।
स्क्यानबाट सबै अवस्थाहरूको पत्ता लाग्न सक्दैन। कुनै बच्चा स्क्यानमा थाहा पाउन नसकेको कुनै अवस्था लिएर जन्मिन सक्ने सदा सम्भावना रहन्छ।
थप परीक्षणहरू
तपाईंको बच्चामा तीमध्ये कुनै अवस्था छ कि छैन भनेर पक्का गर्न मद्दत गर्ने अर्को परीक्षण प्रस्ताव गरिन सक्छ ।
यदि तपाईंलाई थप परीक्षणहरूको प्रस्ताव गरिएमा, यसबारे थप जानकारी दिइनेछ त्यसपछि उक्त परीक्षण गराउने वा नगराउने भनेर तपाईंले निर्णय गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो मिडवाइफ वा चिकित्सकसँग यसबारे छलफल गर्न सक्नुहुन्छ। आवश्यक परे, तपाईंलाई विशेषज्ञलाई, सम्भवत: अर्को अस्पतालमा भेट्ने सिफारिस गरिनेछ।
मेरो परिणाम प्राप्त गर्ने
सोनोग्राफरले स्क्यानको परिणाम त्यतिनै बेला तपाईंलाई बताउन सक्छन्।
थप जानकारी र सहयोग समूहहरूबारे जान्न NHS.UK मा जानुहोस्।
20-हप्ताको अल्ट्रासाउन्ड स्क्यान को बारेमा थप जानकारी हेर्नुहोस्।