प्रचार सामग्री

सर्वाइकल स्क्रिनिङ (पाठेघरको मुखको परीक्षण): स्क्रिनिङ गराउने महिलाहरूको लागि पर्चा (Nepali)

अपडेट किया गया 1 जुलाई 2025

Applies to England

1. सर्वाइकल स्क्रिनिङको लागि हामी कस कसलाई  बोलाउँछौं 

हामी प्रत्येक 5 वर्षमा नियमित रूपमा 25 देखि 64 वर्षका महिलाहरूलाई बोलाउने गर्छौं। धेरैजसो पाठेघरको क्यान्सर यो उमेरमा नै देखा पर्छ। 

तपाईंको जेनरल प्र्याक्टिस केन्द्रद्वारा हामीलाई तपाईंको सम्पर्क विवरण दिइन्छ। कृपया उनीहरूसँग तपाईंको निम्न लगायतका सही विवरणहरू छन् भन्ने सुनिश्चित गर्नुहोस्: 

  • नाम  

  • जन्म मिति 

  • ठेगाना 

  • मोबाइल नम्बर 

  • इमेल ठेगाना 

तपाईंको निमन्त्रण पत्रमा सर्वाइकल स्क्रिनिङको बारेमा विवरण दिइएको हुनेछ। तपाईंले निमन्त्रणा प्राप्त गर्ने बित्तिकै आरक्षण गर्न सक्नुहुन्छ। 

पाठेघर हुने ट्रान्स मेन तथा गैर-बाइनरी व्यक्तिहरू पनि सर्वाइकल स्क्रिनिङको लागि योग्य हुनेछन्। तपाईंलाई कसरी बोलाईन्छ भन्ने कुरा तपाईंको जेनरल प्र्याक्टिसमा भएको बिरामी विवरणमा तपाईंको लिङ्ग के भनेर उल्लेख गरिएको छ त्यसमा भर पर्दछ: 

  • यदि तपाईंलाई महिला भनेर उल्लेख गरिएको छ भने, तपाईंलाई स्वतः बोलाईनेछ। 

  • यदि होइन भने, तपाईंले नियमित निमन्त्रणाहरूका लागि “सामेल हुन” सक्नुहुन्छ। तपाईंले यसका लागि आफ्नो जेनरल प्र्याक्टिस, यौन स्वास्थ्य केन्द्र वा ट्रान्सजेन्डर स्वास्थ्य केन्द्र जस्ता सर्वाइकल स्क्रिनिङ प्रदायकलाई सम्पर्क गर्न सक्नुहुन्छ। 

यदि निश्चित नभएमा आफ्नो जेनरल प्र्याक्टिसमा सम्पर्क गर्नुहोस् यहाँट्रान्सजेन्डर (परालैंगिक) र नन्-बाइनरी (आफ्नो लिंग नखुलाएका) व्यक्तिहरूका लागि स्क्रिनिङ सम्बन्धी जानकारी पढ्न सक्नुहुन्छ। 

2. सर्वाइकल क्यान्सर तथा ह्युमन प्यापिलोमाभाइरस 

पाठेघरको मुखमा कुनैपनि ठाउँमा हुने क्यान्सरलाई सर्वाइकल क्यान्सर भनिन्छ। 

पाठेघरको मुख भनेको तपाईंको योनिबाट गर्भाशय तर्फ जाने ढोका हो। यो प्रजनन प्रणालीको एउटा हिस्सा हो र यसलाई कहिलेकाहीं गर्भाशयको घाँटी पनि भनिन्छ।

पाठेघरको मुख देखिने चित्र 

लगभग सबै नै सर्वाइकल क्यान्सर उच्चतम जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस (ह्युमन प्यापिलोमाभाइरस) द्वारा संक्रमणको कारणले हुन्छ। 

ह्युमन प्यापिलोमाभाइरस भनेको भाइरसको प्राय देखिने एउटा समूहको नाम हो। धेरैजसो ह्युमन प्यापिलोमाभाइरसद्वारा त्यति जोखिम हुँदैन तथा कुनैपनि समस्या उत्पन्न गर्दैनन्। 

ह्युमन प्यापिलोमाभाइरस सजिलै सर्छ। निम्न लगायतका कुनैपनि प्रकारको यौन सम्पर्कबाट तपाईंलाई ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमण हुन सक्छ: 

  • जननेन्द्रिय क्षेत्रको छाला माझ सम्पर्क 

  • योनि, गुदा वा मुखमैथुन 

  • यौन खेलौना साझा गरेर चलाउने 

तपाईंले लिङ्ग प्रवेश बिना यौन सम्पर्क गरेको भएपनि तपाईंलाई ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमण हुन सक्छ। धेरैजसो मानिसहरूलाई जीवनमा कुनै न कुनै प्रकारको ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमण हुन्छ। यसमा लजाउने वा अप्ठ्यारो महसुस गर्नुपर्ने कुरा छैन। 

तपाईं यौन सक्रिय नभएता पनि अथवा नयाँ यौन साथी नभएता पनि तपाईंलाई धेरै वर्षदेखि ह्युमन प्यापिलोमाभाइरस हुन सक्छ। ह्युमन प्यापिलोमाभाइरस को कारणले सधैं लक्षणहरू देखिँदैन, त्यसैले छ कि छैन भनेर थाहा नहुन सक्छ। 

तपाईंको शरीरले प्राय आफैँ ह्युमन प्यापिलोमाभाइरसलाई हटाउनेछ, तर यदि उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस तपाईंको शरीरमा रहेमा, यसले तपाईंको पाठेघरको मुखको कोषहरूमा परिवर्तन ल्याउन सक्छ। उपचार गरिएन भने यी परिवर्तनहरू नै पाठेघरको मुखको क्यान्सरमा परिणत हुन सक्छन्। 

यदि तपाईंलाई उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमण छैन भने, पाठेघरको क्यान्सर हुने सम्भावना अत्यन्त कम हुन्छ। यदि तपाईंको पाठेघरको मुखको कोशिकामा विगतमा असामान्य परिवर्तनहरू भएका छन् भने पनि यस्तो हुन्छ। 

3. सर्वाइकल स्क्रिनिङले कसरी काम गर्छ 

सर्वाइकल स्क्रिनिङ प्राय कुनै महिला नर्स वा चिकित्सकद्वारा गरिन्छ। तपाईंको अपोइन्टमेन्ट लिँदा यो कुरा भन्न सक्नुहुन्छ, र तपाईंको जेनरल प्र्याक्टिस चिकित्सा केन्द्र वा यौन स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्य कर्मी उपलब्ध हुने सुनिश्चित गराइन्छ। 

प्रयोगशालामा परीक्षण गर्नको लागि उनीहरूले एउटा नरम ब्रसको सहायताले पाठेघरको मुखबाट कोषहरूको नमूना लिनेछन्। यसपछि, धेरैजसो मानिसहरूलाई कुनैपनि थप परीक्षणहरू गर्नु पर्दैन। 

यदि हामीले तपाईंको नमुनामा उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस भेटार्यौं भने, कोषहरूमा कुनै असामान्य परिवर्तनहरू छन् वा छैनन् भनेर पनि हामी हेर्छौं। यसबाट सर्वाइकल स्क्रिनिङको परिणाम अझ सटीक हुन सहायता पुग्छ। 

यदि परिवर्तनहरू देखेमा, तपाईंको पाठेघरको मुखमा अझ राम्ररी हेर्नलाई कोल्पोस्कोपी नामक अर्को परीक्षण गर्नुपर्ने हुन सक्छ। यदि तपाईंलाई आवश्यक परेमा यसका बारेमा छलफल गर्न हामी तपाईंलाई एपोइन्टमेन्टको प्रस्ताव गर्नेछौं। 

4. तपाईको अपोइन्टमेन्टमा 

स्क्रिनिङको बेला प्रत्येक चरणमा के के हुन्छ भनेर नर्स वा चिकित्सकले तपाईंलाई बताउनेछन्: 

  1. कम्मरदेखि मुनिको लुगा फुकाल्न तपाईंलाई गोपनीयता प्रदान गरिनेछ। तपाईंले लगाइ राख्न मिल्ने कुनै लुगा, जस्तै लामो जम्पर, ड्रेस वा स्कर्ट लगाउन सक्नुहुन्छ। 

  2. स्क्रिनिङको बेला कम्मरको भाग माथि राख्न तपाईंलाई एउटा कागज वा तौलिया दिइनेछ। 

  3. सामान्यतया तपाईंले खुट्टा खुम्चाएर, एकसाथ राख्दै घुँडा फैलाएर सुत्नु पर्नेछ। तपाईंले अर्कै स्थितिमा बस्ने अनुरोध गर्न सक्नुहुन्छ जस्तै एक पटि ढल्केर। कहिलेकाहीँ परीक्षण अवधिमा तपाईंलाई स्थिति बदल्ने जरूरत पर्न सक्छ। 

  4. नर्स वा डक्टरले तपाईंको योनिमा बिस्तारैसँग स्पेकुलम भनिने एउटा चिल्लो, ट्यूब जस्तो उपकरण पसाउनेछन्। कुनैपनि अप्ठ्यारो हुन नदिन उनीहरूले थोरै मात्रामा लुब्रिकेन्ट लगाउन सक्छन्। तपाईंले अलिक सानो स्पेकुलमको लागि अनुरोध गर्न सक्नुहुन्छ। सुरूमा तपाईं आफैंले स्पेकुलम पसाउने पनि अनुरोध गर्न सक्नुहुन्छ। 

  5. उनीहरूले तपाईंको पाठेघरको मुखमा हेर्न स्पेकुलम फुकाउनेछन्। उनीहरूले नरम ब्रसको प्रयोग गर्दै तपाईंको पाठेघरको मुखबाट कोषहरूको थोरै नमूना लिनेछन्। तपाईंलाई थोरै अप्ठ्यारो लाग्न सक्छ। आफूलाई आरामदायक राख्न तपाईंले श्वासप्रश्वासका अभ्यासहरू गर्न सक्नुहुन्छ। 

  6. उनीहरूले स्पेकुलम बन्द गरेर हटाउनेछन् र तपाईंलाई लुगा लगाउन भन्नेछन्। उनीहरूले कुनैपनि लुब्रिकेन्ट सफा गर्नलाई तपाईंलाई टिस्यु पेपर दिन सक्छन्। 

सर्वाइकल स्क्रिनिङ परीक्षणमा मात्र 5 मिनट भन्दा कम समय लाग्नु पर्छ। सम्पूर्ण एपोइन्टमेन्टमा भने लगभग 10 मिनट समय लाग्छ। 

नर्स वा डक्टर तपाईंलाई सहयोग गर्नलाई तालिमप्राप्त हुनेछन्। तपाईंले आफूसँग कुनै साथी, आफन्त, पार्टनर वा सहयोग कर्मी जस्ता कसैलाई ल्याउन पनि सक्नुहुन्छ। एपोइन्टमेन्टको बेला उनीहरू पनि तपाईंसँगै कोठामा बस्न सक्छन्। 

स्क्रिनिङ भन्दा पहिला यदि तपाईंलाई पिसाब फेर्नु परेमा, नर्स वा डक्टरलाई भन्नुहोस्। तपाईंले आफूलाई सजिलो बनाउनको लागि केही हेरफेर गर्ने अनुरोध गर्न सक्नुहुन्छ साथै यदि कुनै पीडा भएमा बताउनु पर्छ। 

तपाईंले NHS.UK मा गएर सर्वाइकल स्क्रिनिङको भिडियो हेर्न सक्नुहुन्छ। यसमा शरीर भित्रको दृश्य देखिन्छ, साथै परीक्षणमा के के हुन्छ भनेर बताइएको छ। 

5. व्यावहारिक सुझाव र सहयोगहरू 

सर्वाइकल स्क्रिनिङमा जानलाई तपाईंलाई कुनै सहयोग आवश्यक पर्न सक्छ। आरक्षण गर्दा, यदि आफूलाई निम्न अनुसारका कुनै उचित समायोजन आवश्यक छ भने आफ्नो जेनरल प्र्याक्टिस चिकित्सा केन्द्र वा यौन स्वास्थ्य केन्द्रमा भन्नुहोस्: 

  • लामो वा डबल एपोइन्टमेन्ट 

  • जानकारी अन्य भाषा वा स्वरूपमा अथवा दोभाषेको सेवा 

  • कोठामा तपाईंसँग एक जना संरक्षक (अर्को तालिमप्राप्त कर्मचारी) 

  • पहिला देखिनै तपाईंको राम्रो सम्बन्ध भएको कुनै विश्वसनीय डक्टर वा नर्ससँग एपोइन्टमेन्ट 

तपाईंलेः 

  • महिनावारी नभएको समयमा परीक्षणका लागि आरक्षण गर्नु पर्नेछ – यसमा महिनावारी हुनु भन्दा अगाडि वा पछाडिको 2 दिन पनि पर्नेछ। 

  • योनिमा असामान्य स्राव वा पेल्विक संक्रमणको कुनैपनि उपचार हुँदैछ भने पर्खनु पर्नेछ 

  • यदि तपाईं गर्भवती हुनुहुन्छ वा हुन सक्नुहुन्छ भने बताउनुहोस्, किनभने तपाईंको स्क्रिनिङलाई पछि सार्नु पर्ने पनि हुन सक्छ। 

धेरैजसो मानिसहरूले सर्वाइकल स्क्रिनिङ गराउनु भन्दा 2 दिन पहिला देखि योनिको औषधि, लुब्रिकेन्ट र क्रिमहरू लगाउनबाट बच्नु पर्छ। यद्यपि, यदि योनि सुक्खा भएको कारणले तपाईंको एपोइन्टमेन्टमा निकै गाह्रो हुन सक्छ भन्ने तपाईंलाई लागेमा, तपाईंको स्क्रिनिङ भन्दा पहिला योनिको एस्ट्रोजेन क्रिम वा पेसारीको सुझाव गर्न सकिन्छ। 

सर्वाइकल स्क्रिनिङलाई लिएर स्वाभाविक रूपमा कुनै कुनै मानिसहरूलाई निकै चिन्ता हुने गर्दछ। कुनै मानसिक स्वास्थ्य स्थिति, विगतका दुखद अनुभवहरू, यौन दुर्व्यवहार वा घरेलु हिंसाको कारणले यस्तो हुन सक्छ। तपाईंको सर्वाइकल स्क्रिनिङ तपाईंको नियन्त्रणमा हुनेछ तथा कुनैपनि बेला तपाईंले चाहेमा यसलाई रोक्ने अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले GOV.UK मा गएर आउन समस्या हुने मानिसहरूको लागि हाम्रो मार्गदर्शन हेर्न सक्नुहुन्छ। 

6. सर्वाइकल स्क्रिनिङका परिणामहरू 

नजिता कहिले आउन सक्छ भनेर नर्श वा डक्टरले तपाईंलाई बताउँनेछन्। 3 वटा सम्भावित परिणामहरू आउँछन्: 

  • ह्युमन प्यापिलोमाभाइरस नेगेटिभ 

  • ह्युमन प्यापिलोमाभाइरस पोजिटिभ, कुनै असामान्य कोषहरू छैनन् 

  • ह्युमन प्यापिलोमाभाइरस पोजिटिभ साथै असामान्य कोषहरू छन् 

तपाईंको नमुनाबाट हामी कहिलेकाहीँ परिणाम प्राप्त गर्न सक्दैनौं। यदि यस्तो भएमा, हामी तपाईंलाई अर्को सर्वाइकल स्क्रिनिङको लागि 3 महिनामा फेरि बोलाउनेछौं। तर यसको अर्थ केही गलत छ भन्ने होइन। 

6.1 ह्युमन प्यापिलोमाभाइरस नेगेटिभ 

धेरजसो मानिसहरू (100 मा लगभग 87) को परिणाम यस्तो आउँछ। 

यसको अर्थ हो तपाईंको नमुनामा हामीले उच्चतम जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस भेटाएनौं। 

तपाईंलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै न्युन छ। तपाईंको पाठेघरको मुखका कोषहरूमा असामान्य परिवर्तनहरूको लागि हामीले तपाईंको नमुना जाँच गर्नु पर्दैन। 

सामान्यतया हामी तपाईंलाई 5 वर्ष पछि फेरि स्क्रिनिङको लागि बोलाउनेछौं। पछिल्लो पटकको परीक्षणको परिणामको आधारमा कसै कसैलाई चाँडै पनि बोलाउन सकिन्छ। तपाईंको परिणाम सम्बन्धी पत्रमा यसबारे स्पष्ट पारिएको हुनेछ। 

6.2 ह्युमन प्यापिलोमाभाइरस पोजिटिभ, कुनै असामान्य कोषहरू छैनन् 

लगभग 100 मध्ये 9 जनामा ​​यो परिणाम देखिन्छ। 

यसको अर्थ हो तपाईंको नमुनामा हामीले उच्चतम जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस भेटायौं तर कोषहरूमा असामान्य परिवर्तनहरू भने थिएन। 

हामी तपाईंलाई 1 वर्षमा फेरि स्क्रिनिङको लागि बोलाउनेछौं। तपाईंको शरीरबाट उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस हटेको छ वा छैन भनेर हेर्नलाई हामी तपाईंलाई सामान्य भन्दा अलिक चाँडो आउने अनुरोध गर्दछौं, किनभने धेरैजसो अवस्थामा यो हटेको हुन्छ। 

यदि अझै पनि तपाईंको शरीरमा उच्चतम जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस छ तर कोषमा कुनै असामान्य परिवर्तन छैन भने, हामी 1 वर्ष पछि फेरि तपाईंलाई स्क्रिनिङको लागि बोलाउँछौं। यदि 2 वर्ष पछि पनि तपाईंलाई उच्चतम जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस छ भने, तपाईंको पाठेघरको मुखमा राम्ररी हेर्नको लागि हामी तपाईंलाई कोल्पोस्कोपी गर्न बोलाउँछौं। 

6.3 ह्युमन प्यापिलोमाभाइरस पोजिटिभ साथै असामान्य कोषहरू छन् 

लगभग 100 मध्ये 4 जनामा ​​यो परिणाम देखिन्छ। 

यसको अर्थ हो तपाईंको नमुनामा हामीले उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस भेटायौं साथै पाठेघरको कोषहरूमा असामान्य परिवर्तनहरू पनि देखेका छौं। तपाईंको परिणाम सम्बन्धी पत्रमा यसबारे अझ विस्तारमा बताइएको हुनेछ। 

हामी तपाईंलाई कोल्पोस्कोपी गर्न पठाउनेछौं। यो सर्वाइकल स्क्रिनिङ जस्तै हो, तर अस्पतालमा गरिन्छ। कुनै विशेषज्ञ नर्स वा डक्टरले म्याग्निफाइङ्ग लेन्सद्वारा तपाईंको पाठेघरको मुखमा हेर्नेछन्। यसलाई कोल्पोस्कोप भनिन्छ र यो शरीरको बाहिरै रहन्छ। जरूरी भएमा, उनीहरूले तन्तुको थोरै नमूना पनि लिन सक्छन् जसलाई बायोप्सी भनिन्छ। तपाईंले NHS.UK मा गएर कोल्पोस्कोपी गराउने बारे थप जानकारी पढ्न सक्नुहुनेछ। 

कोल्पोस्कोपी गराउने धेरैजसो मानिसहरूलाई पाठेघरको मुखको क्यान्सर भएको हुँदैन।

सर्वाइकल स्क्रिनिङ गराउने प्रत्येक 100 जनाको परिणाम 

तपाईंको परिणामलाई राष्ट्रिय स्वास्थ्य सेवाले एउटा राष्ट्रिय डेटाबेसमा राख्छ। अर्थात तपाईंको नियमित स्क्रिनिङ परिणामहरू माझ हामी तुलना गर्न सक्छौं। तपाईंको नमूनालाई हामी 10 वर्षसम्म सुरक्षित राख्नेछौं। 

7. सर्वाइकल स्क्रिनिङका सम्भाव्य जोखिमहरू 

कुनैपनि स्क्रिनिङ परीक्षण 100% भरपर्दो हुँदैन। 

सर्वाइकल स्क्रिनिङमा, निम्न कारणले यस्तो हुन्छ: 

  • कहिलेकाहीं ह्युमन प्यापिलोमाभाइरस को संक्रमण वा असामान्य कोषहरू नदेखिन (‘गलत नकारात्मक’ परिणाम) सक्छ  

  • पाठेघरको मुख सामान्य नै भएपनि परिणाममा असामान्य कोषहरू फेला परेको देखिने (‘गलत सकारात्मक’ परिणाम) थोरै सम्भावना रहन्छ 

  • स्क्रिनिङ परीक्षणहरूको बीचमा असामान्य कोषहरूको विकास भएर क्यान्सरमा परिणत हुने थोरै जोखिम रहन्छ। 

सर्वाइकल स्क्रिनिङ भनेको प्रजनन प्रणालीका अन्य क्यान्सरहरू, जस्तै अण्डाशय, गर्भाशय, योनीको बाहिरी भाग वा योनिको क्यान्सरको जाँच होइन। तपाईंको कुनैपनि चिन्ता छ भने, आफ्नो जेनरल प्र्याक्टिस्नरलाई तुरून्तै सम्पर्क गर्नुहोस्। 

7.1 कोल्पोस्कोपी गराउँदा हुने सम्भावित जोखिमहरू 

धेरैजसो मानिसहरूलाई कोल्पोस्कोपीको लागि पठाउनु पर्दैन र असामान्य कोषहरू हटाउनु पनि पर्दैन। यदि तपाईंको कोषहरू हटाउनु पर्ने भएमा, रक्तस्राव र संक्रमणको थोरै जोखिम रहन्छ। तपाईंलाई कोल्पोस्कोपी आवश्यक छ वा छैन भनेर  निर्णयमा सहायता गर्न थप जानकारी पाउनुहुनेछ। 

8. सर्वाइकल क्यान्सरका लक्षणहरू 

सर्वाइकल क्यान्सरका निम्न अनुसार लक्षणहरू हुन सक्छन्: 

  • योनिबाट असामान्य रक्तस्राव हुने 

  • यौन सम्पर्कको समयमा वा यसपछि हुने रक्तस्राव, महिनावारी बिचमा रक्तस्राव वा रजोनिवृत्ति (महिनावारी 12 महिना वा सोभन्दा धेरै रोकिएको अवस्था) पश्चात रक्तस्राव 

  • महिनावारी सामान्य भन्दा बढी हुने 

  • तपाईंको योनिश्रावमा परिवर्तन 

  • यौन सम्पर्क गर्दा दुख्ने 

  • तपाईंको ढाढको तल्लो भागमा, कम्मरको हड्डी (पेल्भिस) को मध्यमा, वा तपाईको तल्लो पेटमा दुखाइ 

यी लक्षणहरू प्राय देखिन्छन् र यसका कारणहरू धेरै हुन सक्छन्, तर जेनरल प्र्याक्टिस्नरले यिनीहरूको जाँच गर्नु जरूरी हुन्छ। यदि क्यान्सरको कारणले हो भने, चाँडै पत्ता लागेमा उपचारले काम गर्ने सम्भावना पनि बढी रहन्छ। 

यदि तपाईंको फाइब्रोइड वा एन्डोमेट्रिओसिस जस्तो अर्को कुनै समस्या छ भने, र यदि तपाईंको लक्षणहरूमा परिवर्तन आएमा, अझ खराब भएमा वा तपाईंलाई असामान्य महसुस भएमा आफ्नो जेनरल प्र्याक्टिसमा देखाउनुहोस्। 

9. सर्वाइकल क्यान्सर हुने सम्भावना कसलाई धेरै रहन्छ 

सर्वाइकल क्यान्सरले प्रायजसो 45 वर्ष मुनिका महिला र पाठेघर हुने मानिसहरूलाई असर गर्छ, तर यो कुनैपनि उमेरमा हुन सक्छ। 

निम्न अवस्था भएमा सर्वाइकल क्यान्सर हुने सम्भावना धरै रहन सक्छ: 

  • तपाईंको उमेर 45 वर्ष भन्दा कम भएमा - पाठेघरको मुखको क्यान्सर युवाहरूमा धेरै हुन्छ 

  • यदि तपाईंको प्रतिरक्षा प्रणाली कमजोर भएमा, उदाहरणको लागि तपाईंलाई एचआइभी वा एड्स भएको भएमा 

  • तपाईंले धेरै बच्चाहरू जन्माएको भएमा वा सानै उमेर (17  वर्ष मुनि) मा बच्चा जन्माएको भएमा  

  • तपाईं पेटमा हुँदा तपाईंकी आमाले डाइथाइलस्टिलबेस्ट्रोल नामक हार्मोनल औषधि लिएको भएमा। 

  • विगतमा तपाईंलाई योनि, योनिको बाहिरी भाग, मिर्गौला वा मूत्राशयको क्यान्सर भएको भएमा। 

  • तपाईं धूम्रपान गर्ने भएमा 

  • तपाईंले 5 वर्षभन्दा धेरै गर्भनिरोधक चक्की सेवन गरेको भएमा - यसले जोखिमलाई थोरै मात्र बढाउँछ 

तपाईंले कन्डम प्रयोग गरेर, धूम्रपान त्यागेर र एउटा सन्तुलित खाना खाएर पाठेघरको मुखको क्यान्सर हुने सम्भावनामा कमी ल्याउन सक्नुहुन्छ। 

यदि तपाईंको गर्भाशय र पाठेघरको मुख हटाउने शल्यक्रिया गरिएको छ भने सर्वाइकल क्यान्सर हुन सक्दैन। 

10. सर्वाइकल क्यान्सर र ह्युमन प्यापिलोमाभाइरस खोप 

ह्युमन प्यापिलोमाभाइरस खोप ले धेरैजसो सर्वाइकल क्यान्सर गराउने ह्युमन प्यापिलोमाभाइरसबाट बचाउन सहायता गर्छ। 

यो खोप 12 देखि 13 वर्षका बालबालिका र ह्युमन प्यापिलोमाभाइरस को उच्चतम जोखिममा पर्ने मानिसहरूका लागि सिफारिस गरिन्छ। यदि तपाईं योग्य हुनुहुन्थ्यो तर 12 देखि 13 वर्षको हुँदा खोप लगाउन पाउनु भएन भने, आफ्नो जेनरल प्र्याक्टिस चिकित्सा केन्द्रमा सम्पर्क गर्नुहोस्। 

तपाईंले ह्युमन प्यापिलोमाभाइरस विरूद्ध खोप लगाएको छ भने पनि, सर्वाइकल स्क्रिनिङ गराउन जानु जरूरी छ। यसले तपाईंलाई सबै खाले ह्युमन प्यापिलोमाभाइरस बाट जोगाउँदैन, तसर्थ सर्वाइकल क्यान्सर हुने थोरै सम्भावना अझै पनि रहेको हुन्छ। 

सर्वाइकल स्क्रिनिङ र ह्युमन प्यापिलोमाभाइरस खोपले सर्वाइकल क्यान्सरबाट उत्तम सुरक्षा प्रदान गर्दछ। 

11. क्लिनिकल परीक्षणहरू 

तपाईं क्लिनिकल परीक्षणमा भाग लिन चाहनुहुन्छ कि भनेर तपाईंलाई सोध्न सकिन्छ। यी चिकित्सा सम्बन्धी अनुसन्धान अध्ययनहरू हुन्। तपाईंलाई प्रस्ताव गरिएको कुनैपनि परीक्षणको फलस्वरूप हामीले भविष्यमा सेवामा सुधार ल्याउन सक्ने गरि सबभन्दा उपयुक्त परीक्षण वा उपचारहरूबारे जानकारी संकलन गर्नेछ। सहभागी हुने वा नहुने भन्ने निर्णय तपाईंले आफैँ गर्न सक्नुहुन्छ। 

12. अतिरिक्त जानकारी तथा सहायता 

सर्वाइकल स्क्रिनिङबारे सुझावको लागि तपाईंले आफ्नो जेनरल प्र्याक्टिस चिकित्सा केन्द्र अथवा यौन स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। 

यो जानकारी अन्य भाषाहरू लगायतका  वैकल्पिक स्वरूपहरूमा पनि उपलब्ध छन्। यो सहज पठन मा पनि उपलब्ध छ। 

कुनै वैकल्पिक स्वरूपमा अनुरोध गर्न, 0300 311 22 33 मा फोन गर्न सक्नुहुन्छ वा england.contactus@nhs.net मा इमेल गर्न सक्नुहुन्छ। 

तपाईले निम्न पनि गर्न सक्नुहुन्छः 

इभ अपील भनेको स्त्रीरोग क्यान्सर सम्बन्धी परोपकारी संस्था हो। सर्वाइकल स्क्रिनिङको बारेमा यहाँबाट नि:शुल्क र गोप्य सल्लाह पाउन सकिन्छ। तपाईंले nurse@eveappeal.org.uk मा इमेल अथवा 0808 802 0019 मा फोन गर्न सक्नुहुन्छ। 

कसरी स्क्रिनिङबाट बाहिर निस्कने भनेर जान्नुहोस्।