प्रचार सामग्री

एनएचएस स्तन परीक्षण (स्क्रीनिङ) को लागि तपाईंको गाइड (Nepali)

अद्यावधिक गरियो 14 मई 2025

Applies to England

यस पर्चाले तपाईंलाई उपयोगी हुनसक्ने एनएचएस स्तन परीक्षण सम्बन्धि जानकारी प्रदान गर्छ। स्तन परीक्षणमा भाग लिने/नलिने भनेर तपाईं आफैँले छनौंट गर्न सक्नुहुन्छ।

एनएचएसले किन स्तन परीक्षण (स्क्रीनिङ) प्रस्ताव गर्छ

यसले मानिसको जीवन स्तन क्यान्सरबाट बचाउँन सक्ने भएकाले हामी परीक्षण प्रस्ताव गर्छौं।

स्तन परीक्षणले स्तन क्यान्सरका संकेतहरु प्रारम्भिक चरणमा पत्ता लगाउँन सक्छ। एकदमै सानो भएको कारणले तपाईंले महसुस गर्न वा आँखाले देख्न नसक्ने क्यान्सरहरु हामी खोज्छौँ।

स्तन क्यान्सर प्रारम्भिक चरणमा पत्ता लगाउँनाले तपाईंको उपचार सरल र प्रभावकारी हुने सम्भावना बढी हुन सक्छ।

स्तन परीक्षण (स्क्रीनिङ) को लागि हामी कसलाई निमन्त्रणा गर्छौं

हामी सबै महिलाहरुलाई उनीहरु ५० देखी ५३ वर्षको उमेर हुँदा पहिलो स्तन परीक्षण गराउन निमन्त्रणा गर्छौँ। त्यसपछि तपाईंको उमेर ७१ वर्ष नपुगन्जेल सम्म हरेक ३ बर्षमा निमन्त्रणा गरिन्छ। यो किनभने धेरैजसो स्तन क्यान्सर ५० वर्षभन्दा माथिका महिलाहरूमा विकास हुन्छ।

कृपया जीपी सर्जरीसंग तपाईंको सही र अद्यावधिक (अप टु डेट) सम्पर्क विवरणहरू रहेको सुनिश्चित गर्नुहोस् ताकि हामी तपाईंलाई निमन्त्रणा गर्न सक्छौं। यसमा तपाईंको निम्न लगायत समावेश हुन्छन्ः

  • नाम
  • जन्म मिति
  • ठेगाना
  • मोबाइल नम्बर
  • इमेल

तपाईं परालैंगिक (ट्रान्सजेन्डर) वा नन्-बाइनरी (लिंग छनौट नगरेको) हुनु भएर स्तन परीक्षणको लागि निमन्त्रणा गरिएको चाहनु भएमा, आफ्नो जीपी सर्जरीसँग कुरा गर्नुहोस्। तपाईंले स्तन परीक्षण गर्न सक्नुहुन्छ/हुन्न भनेर तिनीहरुले सल्लाह दिन सक्छन्। यहाँ परालैंगिक र नन्-बाइनरीहरुका लागि परीक्षणबारे जानकारी पढ्न सक्नुहुन्छ

तपाईं ७१ वर्ष वा सोभन्दा माथिको उमेर हुनु भएता पनि प्रत्येक ३ वर्षमा स्तन परीक्षण गराउन सक्नुहुन्छ, तर तपाईंलाई स्वत निमन्त्रणा भने गरिने छैन। अपोइन्टमेन्ट मिलाउँन, तपाईंको स्थानीय स्तन परीक्षण टोली पत्ता लगाउँनुहोस् वा तपाईंको जिपी सर्जरीलाई सम्पर्क विवरण माग्नुहोस्।

स्तन क्यान्सर

स्तनका कोषहरू असामान्य रूपमा विभाजित हुन र बढ्न थाले पछि स्तन क्यान्सर हुन्छ।

यो बेलायतमा महिलाहरूमा हुने सबैभन्दा सामान्य प्रकारको क्यान्सर हो। ७ मध्ये १ महिलालाई आफ्नो जीवनकालमा स्तन क्यान्सर हुन सक्छ।

स्तन क्यान्सर कति गम्भीर छ भन्ने कुरा क्यान्सर कति ठूलो छ र क्यान्सर फैलिएको छ/छैन भन्ने कुरामा निर्भर हुन्छ।

स्तन क्यान्सरको प्रारम्भिक चरणमा पहिचान हुँदा र राम्रो उपचार पाउँदा यसबाट निको हुन्छ र स्वास्थ्यलाभमा सुधार आउँछ।

स्तन परीक्षण (स्क्रीनिङ) कसरी गरिन्छ

तपाईंको स्थानीय परीक्षण सेवा सामान्यतया अस्पतालमा हुनेछ वा अन्यत्र मोबाइल परीक्षण युनिटमा पनि हुन सक्छ।

स्तन परीक्षणमा तपाईंको स्तनको भित्री भागको तस्बिर लिनको लागि म्यामोग्राम भनिने स्तन एक्स-रे प्रयोग गरिन्छ। त्यसपछि विशेषज्ञहरूले तपाईंको स्तनमा हुने कुनै पनि असामान्य परिवर्तनका संकेतहरुका लागि तपाईंको म्यामोग्राम हेर्नेछन्।

धेरैजसो मानिसहरूलाई स्तन क्यान्सरको कुनै संकेतहरु नभएकोले थप परीक्षणको आवश्यकता पर्दैन।

सम्भावित स्तन क्यान्सरको कुनै संकेतहरु भएमा तपाईंलाई थप परीक्षणहरू आवश्यक पर्न सक्छ। तपाईंको परिक्षण (स्क्रीनिङ) सेवाले थप परीक्षणहरू बारे छलफल गर्न तपाईंलाई अपोइन्टमेन्ट प्रस्ताव गर्नेछ।

नियमित स्तन परीक्षणका चरणहरू

तपाईंको अपोइन्टमेन्ट अघि

यदि तपाईंले अपोइन्टमेन्ट रद्द वा परिवर्तन गर्न परेमा आफ्नो स्थानीय स्तन परीक्षण सेवालाई सम्पर्क गर्नुपर्छ।

यदि तपाईंसँग निम्न भएमा अपोइन्टमेन्ट अघि कृपया उनीहरूलाई थाहा दिनुहोस्:

  • सिक्ने अशक्तता वा गतिशिलता (मोबिलिटि) समस्या भएर थप सहयोग चाहिएमा, जस्तै तपाईंसँग हेरचाहकर्ता (केयरर्) आउन परेमा
  • अर्को ढाँचा वा भाषामा जानकारी चाहिएमा

यसले स्थानीय परीक्षण सेवालाई तपाईंलाई आवश्यक पर्ने समायोजनहरू गर्न मद्दत गर्नेछ। यसमा लामो समय-अवधीसम्म अपोइन्टमेन्ट राख्ने वा भिन्न स्थानमा गर्ने समावेश हुन सक्छ।

यदि तपाईंमा निम्न भएमा आफ्नो परीक्षण सेवालाई पनि थाहा दिनुपर्छः

  • स्तन प्रत्यारोपण (इम्प्लान्ट) गर्नुभएको छ भने
  • पेसमेकर (मुटुको धड्कन नाप्ने उपकरण) वा अन्य कुनै प्रत्यारोपित चिकित्सा उपकरण शरीरमा राख्नुभएको छ भने
  • गर्भवती हुनुहुन्छ वा स्तनपान गराइरहनुभएको छ भने
  • शल्यक्रियाद्वारा दुवै स्तन हटाइएको थियो भने (मास्टेक्टोमी)
  • स्तन सल्लाहकार (कन्सलटेन्ट) को हेरचाहमा हुनुहुन्छ भने
  • पछिल्लो ६ महिनामा म्यामोग्राम गराइएको थियो भने

तपाईंको अपोइन्टमेन्टमा

म्यामोग्राफर भनिने विशेषज्ञले तपाईंको म्यामोग्रामहरु लिनेछिन्। म्यामोग्राफर महिला हुनेछिन्। उनीहरूले प्रत्येक चरणमा के हुनेछ भनेर व्याख्या गर्नेछन् र तपाईंले आफुसँग रहेको कुनै पनि प्रश्नहरू सोध्न सक्नुहुन्छ।

स्तन परीक्षण (स्क्रीनिङ) को समयमा, तपाईंको प्रत्येक स्तनको २ वटा म्यामोग्राम लिइनेछ।

  1. तपाईंलाई कम्मरसम्म लुगा खोल्नको लागि गोप्य समय दिइनेछ।
  2. म्यामोग्राफरले तपाईंको स्तनलाई एक्स-रे मेसिनको सहि स्थानमा राख्न मद्दत गर्नेछिन्। तिनीहरूले तपाईंको स्तन छुनु आवस्यक पर्नेछन्।
  3. मेसिनले तपाईंको स्तनलाई सहि ठाउँमा राख्नको लागि निचोड्छ/दबाउ्छ। तपाईं नचलिकन बस्नु पर्छ। केही महिलाहरूलाई यो असहज वा पीडादायी लाग्छ। तर यो असजिलोपना लामो समयसम्म हुदैन। यदि तपाईंले यो क्रमश गर्न नसक्नु भएमा रोक्नुहोस् भनेर अनुरोध गर्न सक्नुहुन्छ।
  4. तिनीहरूले स्तनको माथिबाट पहिलो तस्बिर लिनेछन् र त्यसपछि उही स्तनको साइडबाट त्यहीँ प्रक्रिया दोहोर्याउनेछन्।
  5. त्यसपछि तिनीहरूले तपाईंको अर्को स्तनमा यो प्रक्रिया दोहोर्याउनेछन्।

प्रत्येक म्यामोग्राम गर्न केही सेकेन्ड मात्र लाग्छ। अपोइन्टमेन्ट ३० मिनेटभन्दा बढी समय नलाग्न सक्छ तर प्रायः यो भन्दा छिटो हुन्छ।

म्यामोग्राफरले सामान्यतया पहिलो अपोइन्टमेन्टमा नै तपाईंको स्तनको स्पष्ट तस्बिरहरू लिन सक्छिन्। राम्रो गुणस्तरका तस्बिरहरू प्राप्त गर्न तपाईंलाई दोस्रो परीक्षणको लागि अपोइन्टमेन्टको आवश्यकता विरलै रुपमा पर्न सक्छ।

Woman standing next to mammography equipment, being helped into position by a female mammographer.

म्यामोग्राफर भनिने महिला विशेषज्ञले तपाईंको म्यामोग्रामहरु लिनेछिन्।

त्यस दिनको लागि व्यावहारिक सुझावहरू

तपाईंले कम्मरसम्म लुगा खोल्नु पर्ने हुन्छ, त्यसैले तपाईंले आफ्नो सजिलोपनाको लागि सुरुवाल वा स्कर्ट र माथि टप जस्ता लुगा लगाउन चाहनुहुन्छ।

कृपया अपोइन्टमेन्टको दिन डिओडोरेन्ट (बडि स्प्रे) वा ट्याल्कम पाउडर प्रयोग नगर्नुहोस् किनकि यसले तपाईंको नतिजामा बाधा पुर्‍याउन सक्छ। यदि तपाईंले सक्नुहुन्छ भने, अपोइन्टमेन्ट भन्दा अघि कृपया आफ्नो हार (नेक्लेस) र स्तनको मुन्टोमा लगाइएको पियर्सिङ हटाउनुहोस्।

यदि तपाईं नर्भस हुनुहुन्छ वा कुनै प्रश्नहरू छन् भने तपाईंले स्तन परीक्षण टोलीसँग कुरा गर्न सक्नुहुन्छ। तपाईंले साथी, आफन्त वा हेरचाहकर्ता जस्ता कसैलाई पनि सहयोगको लागि साथमा लैजान सक्नुहुन्छ। तपाईंको अपोइन्टमेन्टको समयमा उनीहरू सामान्यतया प्रतीक्षालयमा बस्नु पर्ने हुन्छ।

स्तन परीक्षण (स्क्रीनिङ) को नतिजाहरु

तपाईंले आफ्नो स्क्रीनिङ अपोइन्टमेन्टको २ हप्ता भित्र नतिजा प्राप्त गर्नुपर्छ। हामी तपाईंको जिपी सर्जरीलाई पनि नतिजाको प्रतिलिपि पठाउनेछौं। कहिलेकाहीँ तपाईंको नतिजा प्राप्त गर्न धेरै समय लाग्छ।

२ वटा सम्भावित नतिजाहरु आउँछन्ः

  • यस समयमा थप परीक्षणहरू आवश्यक पर्दैन, वा
  • थप परीक्षणहरू आवश्यक पर्छ।

यस समयमा थप परीक्षणहरू आवश्यक पर्दैन

धेरैजसो मानिसहरू (१०० मा लगभग ९६ जना) मा यो नतिजा आउँछ।

यसको अर्थ हामीले तपाईंको म्यामोग्राममा स्तन क्यान्सरको कुनै संकेत फेला पारेनौं।

तपाईंलाई कुनै थप परीक्षणहरु गर्न आवश्यक पर्दैन। यदि तपाईं अझै ७१ वर्ष भन्दा कम उमेरको भएमा हामी तपाईंलाई ३ वर्षमा फेरि स्तन परीक्षण प्रस्ताव गर्नेछौं।

यस नतिजाले तपाईंमा स्तन क्यान्सर नभएको वा भविष्यमा यो विकास नहुने भनेर ग्यारेन्टी गर्दैन। यदि तपाईंले आफ्नो स्तनमा कुनै असामान्य परिवर्तन देख्नुभयो भने कृपया सकेसम्म चाँडो आफ्नो जीपी सर्जरीलाई सम्पर्क गर्नुहोस्।

थप परीक्षणहरू आवश्यक पर्छ

स्तन परीक्षण गराउने प्रत्येक १०० जनामा, ४ जनालाई थप परीक्षणको आवश्यकता पर्नेछ।

यसको अर्थ तपाईंलाई स्तन क्यान्सर भएको छ भन्ने होइन। थप परीक्षण आवश्यक पर्ने धेरैजसो मानिसहरूलाई स्तन क्यान्सर हुँदैन।

तपाईंलाई स्तन मूल्याङ्कन अपोइन्टमेन्टको लागि निमन्त्रणा गरिनेछ। यदि तपाईं चिन्तित हुनुहुन्छ वा कुनै प्रश्नहरू छन् भने, तपाईंले आफ्नो अपोइन्टमेन्ट अघि फोनमा स्तन परीक्षण नर्ससँग कुरा गर्न सक्नुहुन्छ। थप परीक्षणहरूको लागि पठाइएको निमन्त्रणामा तपाईंले उनीहरूलाई कसरी सम्पर्क गर्ने भनेर बताउनेछ।

तपाईंको अपोइन्टमेन्टमा, विशेषज्ञले कुन परीक्षणहरू आवश्यक छन् भनेर व्याख्या गर्नेछन्।

यिनीहरु निम्न लगायत हुन सक्छन्ः

  • तपाईंको स्तनहरुको शारीरिक परीक्षण
  • थप म्यामोग्रामहरू
  • तपाईंको स्तनहरुको अल्ट्रासाउन्ड स्क्यान
  • तपाईंको स्तनबाट बायोप्सी भनिने सानो नमूना लिने

लिइएका परीक्षणहरूको आधारमा विशेषज्ञ टोलीले तपाईंलाई कहिले र कसरी आफ्नो नतिजा प्राप्त गर्नेछन् भनेर बताउनेछन्।

स्तन परीक्षण गराइएका प्रत्येक १०० जनामा आउँने नतिजाहरु

स्तन परीक्षण गराउने प्रत्येक १०० जनामा, ४ जनालाई थप परीक्षणको आवश्यकता पर्नेछ भने ९६ जनालाई पर्दैन। ती ४ जना मध्ये १ जनालाई स्तन क्यान्सर भएको निदान हुनेछ।

यी तथ्याङ्कहरू सामान्य जनसंख्याको लागि केवल एक मार्गदर्शन मात्र हुन्। तपाईंको व्यक्तिगत जोखिम तपाईंको उमेर र स्वास्थ्यमा आधारित हुनेछ।

स्तन परीक्षण (स्क्रीनिङ) को सम्भावित जोखिमहरू

स्तन परीक्षणको मुख्य जोखिम भनेको यसले कहिल्यै हानी नगर्ने क्यान्सर पत्ता लगाउन सक्छ। किनभने क्यान्सर जीवन-जोखिममा परिणत हुनेछ/हुनेछैन भनेर हामीले सधैं भविष्यवाणी गर्न सक्दैनौं।

यदि हामीले स्तन क्यान्सर फेला पार्यौं भने तपाईंलाई उपचार प्रस्ताव गरिनेछ। यसको अर्थ तपाईंले जीवन-जोखिम नपार्ने क्यान्सरको लागि उपचार प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईंलाई उपचार प्रस्ताव गरिइएमा, विशेषज्ञ टोलीले तपाईंलाई निर्णय गर्न मद्दत गर्न विकल्पहरू व्याख्या गर्नेछन्।

कुनै पनि परीक्षण १००% प्रभावकारी हुँदैन।

धेरै विरलै, क्यान्सर पत्ता लगाउँनबाट छुट्न सक्छ। परीक्षणले त्यहाँ रहेको क्यान्सरलाई सधैं पत्ता लगाउँदैन। कहिलेकाहीँ म्यामोग्राममा क्यान्सरहरू देखिँदैनन्।

परीक्षण अपोइन्टमेन्टहरू बीचको समयमा पनि स्तन क्यान्सर विकास हुन सक्छ। स्तनमा आउँने कुनै पनि असामान्य परिवर्तनहरू थाहा पाउँन लागि तपाईंले आफ्नो स्तन नियमित रूपमा हेर्न र महसुस गर्न आवश्यक पर्छ। यदि तपाईंले स्तन क्यान्सरको लक्षणहरु आफुमा रहेको सोँच गर्नु भएमा कृपया सकेसम्म चाँडो आफ्नो जीपी सर्जरीलाई सम्पर्क गर्नुहोस्।

म्यामोग्राम गर्दा तपाईं एक्स-रेबाट थोरै मात्रामा विकिरण (रेडिएसन) को सम्पर्कमा आउँनुहुन्छ। यसले तपाईंको जीवनकालमा क्यान्सर हुने सम्भावनालाई एकदमै कम मात्रामा बढाउँछ। कुनै पनि जोखिम कम गर्न एनएचएस मेसिनहरूले कम विकिरण प्रयोग गर्छ। स्तन परीक्षणको समग्र फाइदाहरू विकिरणको जोखिमभन्दा बढी रहेको अनुसन्धानले देखाउँछ।

स्तन क्यान्सरको लक्षणहरु

तपाईंको स्तन सामान्यतया कस्तो देखिन्छ र महसुस हुन्छ भनेर जान्न महत्त्वपूर्ण छ, ताकि तपाईंको लागि के सामान्य हो भनेर आफुलाई थाहा होस्। यसले तपाईंको स्तनमा आउँने कुनै पनि परिवर्तनहरू याद गर्न सजिलो बनाउँछ।

महिलाहरुमा स्तन क्यान्सरका लक्षणहरू निम्न समावेश हुन सक्छन्:

  • तपाईंको स्तन, छाती वा काखीमा गाँठो आउँने वा सुन्निने
  • तपाईंको स्तनको छालामा परिवर्तन, जस्तै डिम्पल बस्नु वा रातोपन हुनु (कालो वा खैरो छालामा दाग वा छालाको रंगमा आएको परिवर्तन देख्न गाह्रो हुन सक्छ)
  • सुन्तलाको बोक्राको रंग जस्तो देखिनु, जहाँ छाला बाक्लो हुन सक्छ र छिद्रहरू (pores) बढी स्पष्ट हुन्छन्
  • एउटा वा दुवै स्तनको आकार वा बनौंट परिवर्तन हुनु
  • स्तनको मुन्टो (निप्पल) बाट स्राव (डिस्चार्ज) हुनु, जसमा रगत हुन सक्छ
  • तपाईंको स्तनको मुन्टोको आकार वा रूप परिवर्तन हुनु, जस्तै यो भित्रतिर दबिनु (उल्टो निप्पल) वा यसमा दाग हुनु (एक्जिमा जस्तो देखिन सक्छ)।

तपाईंको स्तनमा आफै दुखाइ हुनु भनेको सामान्यतया स्तन क्यान्सरको संकेत होइन। यदि तपाईंलाई स्तन वा काखीमा सधैं वा लगभग सधैं दुखाइ वा असजिलोपन भइरहन्छ भने, यसको जाँच गराउनु राम्रो हुन्छ।

यदि तपाईंसँग यी मध्ये कुनै पनि लक्षणहरू भएमा, कृपया आफ्नो जीपीसँग जति सक्दो चाँडो कुरा गर्नुहोस्। तत्काल (अर्जेन्ट) अपोइन्टमेन्टको लागि जिपी रिसेप्शन टोलीलाई अनुरोध गर्नुहोस्। तपाईंले हालसालै स्तन परीक्षण गरिसकेको भएता पनि यो गर्न महत्त्वपूर्ण छ।

स्तन क्यान्सर हुने सम्भावना कसलाई बढी हुन्छ?

स्तन क्यान्सर जसलाई पनि हुन सक्छ, तर यदि तपाईंमा निम्न भएमा सम्भावना बढी हुन्छः

  • ५० भन्दा बढि उमेर
  • बाक्लो स्तन तन्तु
  • तपाईंको परिवारको अन्य व्यक्तिहरूलाई स्तन वा पाठेघरको क्यान्सर भएको थियो - तपाईंले त्रुटिपूर्ण (फल्टि) बिआरसिए जीन जस्ता त्रुटिपूर्ण जीन वंशाणुगत रूपमा प्राप्त गरेको हुन सक्छ।
  • तपाईंसँग केही स्तन रोगहरू छन्, जस्तै निको हुने किसिमको स्तन रोग, डक्टल कार्सिनोमा इन सिटू वा लोबुलर कार्सिनोमा इन सिटू (स्तनको दूध उत्पादन गर्ने ग्रन्थीहरूमा क्यान्सर नभएको अवस्थामा भेटिने असामान्य कोषहरू)।

यदि तपाईंको परिवारको कसैसँग स्तन वा पाठेघरको क्यान्सर छ र तपाईंलाई सल्लाह चाहिन्छ भने आफ्नो जीपी वा प्राक्टिस नर्ससँग कुरा गर्न सक्नुहुन्छ।

तपाईंले हप्तामा १४ युनिटभन्दा बढी रक्सी नपिई स्वस्थ तौल कायम राखेर स्तन क्यान्सरको जोखिम कम गर्न सक्नुहुन्छ।

क्लिनिकल ट्रायलहरु (चिकित्सासम्बन्धी परीक्षणहरू)

तपाईंलाई क्लिनिकल परीक्षणमा भाग लिन चाहनुहुन्छ/हुन्न भनेर सोध्न सकिन्छ। यी चिकित्सा अनुसन्धान अध्ययनहरू हुन्। तपाईंलाई प्रस्ताव गरिएको कुनै पनि परीक्षणले उत्तम प्रकारका स्क्रिनिङ परीक्षण वा उपचारहरू बारे जानकारी सङ्कलन गर्नेछ ताकि हामीले भविष्यमा सेवाहरू सुधार गर्न सक्छौं। तपाईंले भाग लिने वा नलिने भनेर छनौट गर्न सक्नुहुन्छ।

थप जानकारी र सहायता

स्तन परीक्षण बारे सल्लाहको लागि, आफ्नो जीपी सर्जरी वा स्थानीय स्तन परीक्षण सेवालाई सम्पर्क गर्न सक्नुहुन्छ।

यो जानकारी अन्य भाषाहरू सहित वैकल्पिक ढाँचाहरूमा उपलब्ध छ। योसहज पठनमापनि उपलब्ध छ।

अर्को ढाँचा अनुरोध गर्न, तपाईंले ०३०० ३११ २२३३ मा फोन वाengland.contactus@nhs.net

तपाईंले निम्न पनि गर्न सक्नुहुन्छः

ब्रेस्ट क्यान्सर नाउ (Breast Cancer Now)ले स्तन स्वास्थ्य र स्तन परीक्षण बारे नि:शुल्क र गोप्य जानकारी र सहायता पनि प्रदान गर्छ। तपाईंले तिनीहरुको हेल्पलाइनलाई ०८०८ ८०० ६००० मा फोन गर्न सक्नुहुन्छ। यदि तपाईंलाई भाषाको सहयोग चाहिन्छ भने दोभाषे उपलब्ध हुन्छन्।

परीक्षणबाट कसरीअप्ट आउट (रोकावट) गर्नेभन्ने बारे पढ्नुहोस्।