मार्गदर्शन

एब्डोमिनल एओर्टिक एन्युरिज्म (एएए) को स्क्रिनिङ - ६५ वर्ष र माथिका पुरुषहरूको लागि नि:शुल्क परीक्षण (Nepali)

अद्यावधिक गरियो 9 जनवरी 2026

Applies to England

तपाईंले आफु एब्डोमिनल एओर्टिक एन्युरिज्म (एएए) को स्क्रिनिङमा भाग लिन चाहनुहुन्छ वा चाहनुहुन्न भनेर छनौट गर्न सक्नुहुन्छ। यो पुस्तिकाले तपाईंलाई सो निर्णय गर्न मद्दत गर्ने लक्ष्य राख्छ।

एनएचएसले किन एएए स्क्रिनिङ प्रस्ताव गर्छ?

एब्डोमिनल एओर्टिक एन्युरिज्म (पेटको महाधमनी सुन्निएको अवस्था), वा एएए भनेको तपाईंको महाधमनीमा सुन्निने समस्या हुनु हो। महाधमनी मुख्य रक्तनली हो जसले मुटुबाट पेट सम्म रगत लैजान्छ। ठूला एएएहरू गम्भीर हुन सक्छन्। एन्युरिज्म (धमनीविस्फार/धमनी सुन्निएको अवस्था) हरू चाँडै पत्ता लगाउन सकोस् र तिनीहरूको निगरानी वा उपचार गर्न सकोस् भनेर हामी स्क्रिनिङ प्रस्ताव गर्छौं।

यदि तपाईंलाई एएए छ भने, तपाईंले कुनै पनि लक्षणहरू आफुमा नदेख्न सक्नुहुन्छ। यसको मतलब तपाईंसँग यो छ कि छैन भनेर तपाईंले सामान्यतया भन्न सक्नुहुन्न। पत्ता लगाउने सबैभन्दा सजिलो तरिका भनेको आफ्नो पेटको अल्ट्रासाउन्ड स्क्यान गर्नु हो।

एएए स्क्रिनिङको लागि हामी कसलाई आमन्त्रित गर्छौं

एनएचएसले सबै पुरुषहरूलाई उनीहरु ६५ वर्ष पुग्ने वर्षमा स्क्रिनिङको लागि आमन्त्रित गर्छ। तपाईं जिपी (GP) मा दर्ता भएको हुनुपर्छ र इङ्गल्याण्डमा बसोबास गरेको हुनुपर्छ। कृपया तपाईंको जीपीसँग निम्न लगायत आफ्ना सही विवरणहरू छन् भनेर सुनिश्चित गर्नुहोस्: 

  • नाम  
  • जन्म मिति 
  • ठेगाना 
  • सम्पर्क नम्बर 
  • इमेल ठेगाना

यदि तपाईं ६५ वर्ष पुग्नुभएको वर्षमा तपाईं जिपीकोमा दर्ता भइसकेको थिएन भने, वा हामीसँग तपाईंको अद्यावधिक (अप-टु-डेट) सम्पर्क विवरणहरू थिएनन् भने, तपाईंलाई निमन्त्रणा ढिलो आउन सक्छ।

स्क्रिनिङ नगराएका ६५ वर्षभन्दा माथिका पुरुषहरूले, आफ्नो परीक्षणको व्यवस्था गर्न आफ्नो स्थानीय एएए स्क्रिनिङ सेवालाई सम्पर्क गर्न सक्छन्।

परालैंगिक र गैर-द्वयसांख्यिकी व्यक्तिहरू (ट्रान्स् एन्ड नन्-बाइनरी)

महिलाको रूपमा जिपीमा दर्ता भएका व्यक्तिहरूलाई एएए स्क्रिनिङको लागि आमन्त्रित गरिएको छैन। जन्मको समयमा पुरुष तोकिएका र ६५ वर्ष वा सोभन्दा माथिका परालैंगिक र गैर-द्वयसांख्यिकी व्यक्तिहरूले एएए स्क्रिनिङको लागि अनुरोध गर्न सक्छन्। तपाईंको जीपीले तपाईंको लागि यो व्यवस्था गर्न सक्नेछन्।

एब्डोमिनल एओर्टिक एन्युरिज्म [पेटको महाधमनी सुन्निएको अवस्था] (एएए)

महाधमनी (एओर्टा) मुख्य रक्तनली हो जसले तपाईंको शरिरमा रगत लैजान्छ। यो तपाईंको मुटुबाट छाती र पेट हुँदै तल जान्छ।

केही मानिसहरूमा, उमेर बढ्दै जाँदा, उनीहरुको पेटमा रहेको महाधमनीको पर्खाल कमजोर हुन सक्छ। त्यसपछि यो सुन्निन सुरु हुन थाल्छ (बेलुनको जस्तै) र एन्युरिज्म (धमनीविस्फार/धमनी सुन्निएको अवस्था) बन्न सक्छ।

यो अवस्था ६५ वर्ष र माथिका पुरुषहरूमा सामान्यतया धेरै हुन्छ।

पेटमा महाधमनी सुन्निन सक्छ र एएए बन्न सक्छ

एएएबाट हुने जोखिमहरू

ठूला एन्युरिज्महरू दुर्लभ हुन्छन् तर धेरै गम्भीर हुन सक्छन्। महाधमनीको पर्खाल सुन्निएर बढ्दै जाँदा, यो फुट्न सक्छ, जसले गर्दा आन्तरिक रक्तस्राव हुन सक्छ। एन्युरिज्म फुटेका प्रत्येक १०० मध्ये लगभग ८५ जनाको मृत्यु यसकारणले हुन्छ।

यदि हामीले सानो वा मध्यम एन्युरिज्म फेला पार्यौं भने, यो ठूलो हुँदै गइरहेको छ कि छैन भनेर जाँच गरिरहनु महत्त्वपूर्ण हुन्छ। यदि तपाईंसँग सानो एएए छ भने, हामी तपाईंलाई हरेक १२ महिनामा स्क्यानको लागि आमन्त्रित गर्नेछौं। यदि तपाईंसँग मध्यम एएए छ भने, हामी तपाईंलाई हरेक ३ महिनामा स्क्यानको लागि आमन्त्रित गर्नेछौं।

एएए स्क्रिनिङ कसरी गरिन्छ

हामी गर्भवती महिलाहरूमा प्रयोग गर्ने जस्तै साधारण अल्ट्रासाउन्ड स्क्यान प्रयोग गर्छौं। यो धेरै छिटो हुन्छ। स्क्यान गर्न सामान्यतया १० मिनेटभन्दा कम समय लाग्छ।

क्लिनिकमा, हामी तपाईंको व्यक्तिगत विवरणहरू जाँच गर्नेछौं र स्क्यानको बारेमा व्याख्या गर्नेछौं। तपाईंले हामीलाई कुनै पनि प्रश्न सोध्न सक्नुहुन्छ।

त्यसपछि हामी तपाईंलाई पल्टेर सुत्न अनुरोध गर्नेछौं। तपाईंले शरिरको माथिल्लो भाँगमा लगाउँनु भएको कपडा माथि ल्याउ्न पर्नेछ वा आफ्नो शर्टको बटन खोल्नु पर्नेछ, तर तपाईंले लुगा फुकाल्न पर्ने छैन।

हामी तपाईंको पेटमा चिसो जेल (चिल्लो पदार्थ) लगाउँनेछौं। त्यसपछि हामी स्क्यानिङ प्रोब भनिने अल्ट्रासाउन्डको नलीको टुप्पोको भागलाई तपाईंको छालामाथि राखेर दल्नेछौं। स्क्यान पूर्णतया पीडारहित हुन्छ। यसले स्क्रिनमा तपाईंको महाधमनी (एओर्टा) को तस्वीर देखाउनेछ, र हामी यसलाई नाप्नेछौं।

हामी तपाईंलाई तुरुन्तै तपाईंको नतिजा बताउन सक्षम हुनेछौं। हामी तपाईंको नतिजाको प्रतिलिपि तपाईंको जिपीलाई पनि पठाउनेछौं।

कहिलेकाहीँ स्क्यान स्पष्ट हुँदैन र महाधमनीलाई राम्रोसँग जाँच गर्न सकिँदैन। यसको बारेमा चिन्ता गर्न आवास्यक पर्दैन। तपाईंलाई सामान्यतया अर्को दिनमा अर्को स्क्यान गर्नु पर्छ भनिनेछ।

एएए स्क्रिनिङका नतिजाहरू

४ वटा सम्भावित नतिजाहरू हुन्छन्ः

  1. एएए छैन
  2. सानो एएए
  3. मध्यम एएए
  4. ठूलो एएए

कुनै एएए छैन

यदि तपाईंको महाधमनी ३ सेन्टिमिटरभन्दा कम चौडा छ भने, यसको अर्थ तपाईंसँग एएए नभएको बुझिन्छ। धेरैजसो पुरुषहरूमा यो नतिजा आउँछ। पछि तपाईंलाई उपचार वा निगरानीको आवश्यकता पर्दैन। हामी तपाईंलाई फेरि एएए स्क्रिनिङको लागि आमन्त्रित गर्ने छैनौं।

सानो एएए

यदि तपाईंको महाधमनी ३ सेन्टिमिटर देखि ४.४ सेन्टिमिटर भित्रको चौडा छ भने, तपाईंसँग सानो एएए भएको बुझिन्छ। जाँच गरिएका ८० मध्ये लगभग १ जना पुरुषमा सानो एएए हुन्छ। यो ठूलो हुँदै गइरहेको छ कि छैन भनेर जाँच गर्न हामी तपाईंलाई प्रत्येक १२ महिनामा स्क्यानको लागि आमन्त्रित गर्नेछौं।

मध्यम एएए

यदि तपाईंको महाधमनी ४.५ सेन्टिमिटर देखि ५.४ सेन्टिमिटर भित्रको चौडा छ भने, तपाईंसँग मध्यम एएए भएको बुझिन्छ। जाँच गरिएका ५०० मध्ये १ जना पुरुषमा मध्यम एएए हुन्छ। यो ठूलो हुँदै गइरहेको छ कि छैन भनेर जाँच गर्न हामी तपाईंलाई प्रत्येक ३ महिनामा स्क्यानको लागि आमन्त्रित गर्नेछौं।

ठूलो एएए

यदि तपाईंको महाधमनी ५.५ सेन्टिमिटर वा सो भन्दा माथिको चौडा छ भने, तपाईंसँग ठूलो एएए भएको बुझिन्छ। जाँच गरिएका २,५०० मध्ये लगभग १ जना पुरुषमा ठूलो एएए हुन्छ। हामी तपाईंलाई विशेषज्ञ टोलीसँग अपोइन्टमेन्ट प्रस्ताव गर्नेछौं। उनीहरूले थप स्क्यान गर्नेछन् र सामान्यतया शल्यक्रिया जस्ता सम्भावित उपचारका विकल्पहरूको बारेमा तपाईंसँग कुराकानी गर्नेछन्।

सानो वा मध्यम एएएको निगरानी गर्ने                                                         

यदि तपाईंसँग सानो वा मध्यम एएए छ भने, यो ठूलो भएमा मात्र तपाईंलाई उपचारको आवश्यकता पर्नेछ।

तपाईंको एएएको आकारको निगरानी गर्नु महत्त्वपूर्ण हुन्छ। यो ठूलो एएएमा विकसित भइहाल्छ कि भनेर गर्ने हो।

धेरैजसो एएएहरू एकदमै बिस्तारै ठूला हुदै जान्छन्। सानो वा मध्यम एएए भएका धेरैजसो पुरुषहरूमा यो कहिल्यै ठूलो एएएमा विकास नहुन सक्छ र तिनीहरूलाई उपचारको आवश्यकता नपर्न सक्छ।

हामी तपाईंको लागि रक्तनली सम्बन्धि (भास्कुलर) नर्स विशेषज्ञसंग अपोइन्टमेन्टको व्यवस्था गर्नेछौं जसले तपाईंलाई एएए बढ्ने जोखिम कम गर्ने बारे सल्लाह दिनेछन्। तपाईंको जीपीले तपाईंलाई ट्याब्लेट पनि दिन सक्छन् वा तपाईंले लिइरहनुभएको कुनै पनि औषधिको समीक्षा पनि गर्न सक्छन्। तपाईंलाई आफ्नो रक्तचाप जाँच गर्नु भनिन सक्नेसक्छ।

ठूलो एएएको उपचार गर्ने

यदि हामीले ठूलो एएए फेला पार्यौं भने, हामी तपाईंलाई विशेषज्ञ टोलीमा पठाउनेछौं। उनीहरूले थप परीक्षणहरू गर्नेछन् र एक विशेषज्ञले तपाईंसँग उपचारको विकल्पहरूको बारेमा छलफल गर्नेछन्। यदि तपाईंले उपचार गर्न चाहनुहुन्छ भने, यो सामान्यतया तपाईंको अपोइन्टमेन्ट भएको दुई महिना भित्रमा शल्यक्रिया (अपरेशन) गरेर हुनेछ।

स्क्रिनिङमा पत्ता लगाइएको एन्युरिज्म (धमनीविस्फार) को उपचार सामान्यतया सुरक्षित र धेरै प्रभावकारी हुन्छ। उपचार गर्दा जोखिमहरू हुन्छन्। विशेषज्ञले तपाईंलाई यी जोखिमहरुको बारेमा विस्तृत रूपमा व्याख्या गर्नेछन्।

ठूलो एएए पत्ता लाग्यो भन्दैमा सबैको शल्यक्रिया गरिदैन।

एएए स्क्रिनिङका सम्भावित जोखिमहरू

कुनै पनि स्क्रिनिङ परीक्षण पूर्ण रूपमा प्रभावकारी हुँदैन, तर एएए पत्ता लगाउन प्रयोग गरिने स्क्यान धेरै भरपर्दो हुन्छ। यदि स्क्रिनिङले एन्युरिज्म पत्ता लागेन भने पुरुषमा ठूलो एएए विकास हुने भनेको दुर्लभ हो। एएए स्क्रिनिङले एन्युरिज्म फुट्ने जोखिमलाई पूर्ण रूपमा हटाउँदैन, तर यो तपाईंको जोखिम कम गर्ने सबै भन्दा उत्तम तरिका हो।

स्क्रिनिङ परीक्षणबाट कुनै जोखिम हुँदैन, तर यदि तपाईंलाई एएएको उपचार गर्न शल्यक्रिया आवश्यक परेमा जोखिमहरू हुन्छन्। स्क्रिनिङ गरिएका १०,००० मध्ये लगभग ३० जना पुरुषले शल्क्रिया गर्छन्। औसतमा, शल्यक्रिया गरिएका ६७ मध्ये १ पुरुष बाँच्नेछैनन्। यदि उपचार नगरिएको भए उनीहरूको एएए कहिल्यै फुट्ने थिएन भन्ने कुरा कम सम्भावनाको कुरा हुन्।

कसलाई एएए हुने सम्भावना बढी हुन्छ?

महिलाको तुलनामा पुरुषमा एएए हुने सम्भावना ४ गुणा बढी हुन्छ। यही कारणले गर्दा महिलाहरूलाई स्क्रिनिङको प्रस्ताव गरिँदैन। उमेर बढ्दै जाँदा एन्युरिज्म हुने सम्भावना पनि यसको साथसाथै बढ्छ।

यदि निम्न लागु भएमा तपाईंलाई एएए हुने सम्भावना पनि बढ्न सक्छ:

  • तपाईं धूम्रपान गर्ने व्यक्ति हुनुहुन्छ वा पहिल्यै धूम्रपान गर्नुभएको थियो
  • तपाईंलाई उच्च रक्तचाप छ
  • तपाईंको भाइ, बहिनी वा आमाबाबुसँग एएए छ वा भएको थियो।

थप जानकारी र सहायता

एएए स्क्रिनिङको बारेमा थप जानकारीको लागि, आफ्नो स्थानीय स्क्रिनिङ सेवालाई सम्पर्क गर्नुहोस्। यदि तपाईंलाई थप सहयोग चाहिन्छ भने कृपया आफ्नो अपोइन्टमेन्ट अघि उनीहरूलाई अवगत गराउँनुहोस्। यसमा तपाईंसँगै आउने हेरचाहकर्ता (केयरर्), लामो समयसम्म अपोइन्टमेन्ट मिलाउँने वा फरक ठाउँमा अपोइन्टमेन्ट मिलाउँने इत्यादी थप सहायताहरु समावेश हुन सक्छन्।

तपाईंको निमन्त्रणामा उनीहरूको सम्पर्क विवरणहरू समावेश हुनेछन्। तपाईंले आफ्नो जीपी सर्जरीसँग पनि यसबारे कुरा गर्न सक्नुहुन्छ।

तपाईंको स्थानीय एएए स्क्रिनिङ सेवाको सम्पर्क विवरणहरू खोज्नुहोस्

यो जानकारी सजिलै पढ्न सकिनेअन्य भाषाहरू लगायत वैकल्पिक ढाँचाहरूमा उपलब्ध छ अर्को ढाँचा अनुरोध गर्न, तपाईंले ०३०० ३११ २२ ३३ मा फोन गर्न सक्नुहुन्छ वाengland.contactus@nhs.net मा इमेल गर्न सक्नुहुन्छ।  

तपाईंले निम्न पनि गर्न सक्नुहुन्छः 

सर्कुलेशन फाउन्डेसनब्रिटिश हार्ट फाउन्डेसनले रक्तनली सम्बन्धी रोग भएका मानिसहरूलाई सहयोग गर्छ। यसमा एएए भएका व्यक्तिहरू पनि समावेश छन्।

हामीले तपाईंलाई सही समयमा स्क्रिनिङको लागि आमन्त्रित गर्न सकोस् भनेर तपाईंको एनएचएस रेकर्डबाट तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्छौं। यो जानकारीले हामीलाई स्क्रिनिङ कार्यक्रमहरू सुधार गर्न र गुणस्तरीय हेरचाह प्रदान गर्न मद्दत गर्छ। हामीले कसरी तपाईंको जानकारी प्रयोग गर्छौं र यसको संरक्षण गर्छौं भन्ने बारे पढ्नुहोस्।

स्क्रिनिङबाट कसरी बाहिरिने (अप्ट आउट् गर्ने) भन्ने बारे पत्ता लगाउँनुहोस्।